काठमाडौं–केहि दिन अघि सम्पन्न स्थानीय तहको निर्वाचनपछि प्राय सार्वजनिक कार्यक्रमहरुमा सत्ता साझेदार नेकपा एस (एकीकृत समाजवादी)का नेताहरुले गठबन्धनप्रति असन्तुष्ट जनाउँदै आएका छन् ।
यसै सनदर्भमा पार्टीले छलफल गरी निचोड निकाल्ने सम्मानित नेता झलनाथ खनालले स्पष्ट पार्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनसँग धेरै असन्तुष्ट रहेको बताउनुभयो ।
पार्टीको शनिबार बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग सम्मानित नेता खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको आरोप लगाउनुभयो ।
‘पाँच दलीय गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन ।’–उहाँले भन्नुभयो । यसकारण गठबन्धनबाट निर्वाचनको परिणाम चित्त बुझ्दो नआएको उहाँको धारणा छ । उहाँले आफूहरुको असन्तुष्टि सत्तारुढ दलहरूको बैठकमा समेत राखिएको बताउँदै आन्तरिक छलफल गरेर एउटा निष्कर्षमा पुग्ने बताउनुभएको हो ।
नेता खनालले तत्काल वामपन्थी दलहरुबीचको एकताको आवश्यकता औंल्याउनुभयो । आवश्यकता यस्तो रहेपनि त्यो सम्भावना अहिलेलाई निकै कमजोर रहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले पार्टीमा समीक्षा गरिसकेपछि एउटा निचोडमा पुग्ने जानकारी दिनुभएको हो ।