काठमाडौं–काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वारबाट प्रमुख(मेयर) मा निर्वाचित बालेन्द्र शाहले निर्वाचित भएसँगै भेटघाट तीब्र बनाएका छन् । सहकार्यको सन्देश लिएर भेटघाटलाई व्यापकता दिएको बताइएको छ । सोमबार पद तथा गोपनीयताको सपथ खाएसँगै मेयर शाहले प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरेका थिए ।

उनले मंगलबार दिउँसो नबिल बैंकका सीईओ अनिल शाहसँग पनि भेट गरेका थिए। आजैमात्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गत १२ वैशाखमा भएको भेट सार्वजनिक भएको छ।

अध्यक्ष ओलीसँगको बालेनको यो भेटलाई अर्थपूर्ण रुपमा ब्याख्या गर्न थालिएको छ। एमालेवृत्तमा ओलीसँगको भेटलाई लिएर राजनीतिक ‘अर्थपूर्ण’ रुपमा चर्चा सुरु भएको हो। एमाले नेतृ तथा सांसद शान्ता चौधरीले ‘अर्थपूर्ण’ भेट भएको बताएकी छन्।

निर्वाचन आयोगबाट लौरो चुनाव चिह्न पाएका शाह स्वतन्त्रबाट निर्वाचित भएका हुन्। उनले एमालेका उम्मेदवार केशव स्थापितलाई पराजित गरेका थिए। मेयर शाह र ओलीबीचको भेट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी सुरु भएका छन्।

अन्य नेतासँग पनि भेट हुने

मतगणनाको अन्तिम परिणाम आउनुअघि नै ओलीलाई भेट्न पुगेका शाह अन्य शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने तयारीमा छन्। मेयर शाहको चुनावी टिमका सदस्य कुमार बेनका अनुसार अन्य नेताहरुसँग पनि भेटघाटका लागि कुराकानी भइरहेको छ।

महानगर बनाउन एक्लैको प्रयास सम्भव नहुने भएकाले सबैसँग सहकार्य गरेर अघि बढ्ने तयारी मेयर शाहको रहेको उनले बताए। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेताहरुसँग पनि भेटघाटका लागि छलफल भइरहेको बेनले नेपालखबरलाई बताए।

‘काठमाडौं बनाउनका लागि सबैसँग सहकार्य गर्न जरुरी छ,’ उनले भने, ‘ओलीसँग मात्र नभई अन्य नेतासँग पनि भेटघाटको तयारी भइरहेको छ ।’

मेयरको सपथ खाएपछि उनले पहिलोपटक प्रधानसेनापतिसँग भेट गरेका थिए ।

‘सबैसँग सहकार्य नै हो। हामीले हिजो आर्मी चिफसँग पनि भेट्यौं,’ बेन भन्छन्, ‘काठमाडौं बनाउनका लागि एक्लो तयारीले हुँदैन ।’
साभार :https://www.nepalkhabar.com/politics/132639-2022-5-31-20-46-9

प्रतिक्रिया दिनुहोस !