काठमाडौं–बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले नगरको स्थानीय सांस्कृतिक पाटोहरुको विकास र संरक्षणमा सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ ।

साहित्य,कला,सामाजिक सेवा एवं राजनीतिक आन्दोलन हुदै हालै नगरको उप–प्रमुखमा निर्वाचित हुनुभएका लामाले कला संस्कृतिको पाटोलाई आफूले नजिकबाट हेरेको स्पष्ट पार्नुभयो । मंगलवार कला,साहित्य र संस्कृतिको अभियान ‘जेसुम अभियान’ टोलीसँगको भेटमा उहाँले भन्नुभयो–‘यो नगरमा प्रवद्र्धन गर्नुपर्ने सांस्कृतिक सम्पदा,सांस्कृतिक विविधतापूर्ण आयामहरु धेरै छन्,यसप्रति हाम्रो टिम प्रतिवद्ध छौं ।’

सांस्कृतिक पाटोको प्रवद्र्धनले नै नगरले आफ्नो थप पहिचान निर्माण गर्ने र यो समृद्धिको एउटा महत्वपूर्ण अंग रहेको उहाँको भनाई छ । कला क्षेत्रको विकास,संरक्षणका लागि नगरले महत्वपूर्ण विभागीय अंग बनाउने विषय निर्वाचनको घोषणा पत्रमै उल्लेख गरेको जनाउनुहुदै उपप्रमुख लामाले आर्थिक वर्ष २०७९÷०८० को नीति,कार्यक्रम र बजेटबाट नै सम्बोधनको तयारी भईरहेको जानकारी दिनुभयो ।

नगरका प्रमुख मिठाराम अधिकारीको पृष्ठभुमि समेत साहित्य कला क्षेत्रसँग गाँसिएको स्पष्ट पार्नुहुदै उहाँले यो क्षेत्रमा नगरले महत्वपूर्ण उपलब्धी हाँसील गर्ने विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख अधिकारीले जेसुम टोलीसँगको भेटले हौसला मिलेको बताउनुभयो । सबै तहको सहकार्यबाट नै बुढानीलकण्ठ नगरले समृद्धिको रुप पाउने नगरप्रमुख अधिकारीको भनाई छ ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले सांस्कृतिक राष्ट्रियताको निर्माणले नै मुलुकलाई बलियो बनाउने उल्लेख गर्दै यो कुरा सबै जनप्रतिनिधिले वोध गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बुढानीलकण्ठको सम्भावनाहरुको पहिचान र प्रचारात्मक अभियानमा मिडिया जगत सदैव साथमा रहने प्रतिवद्धता जनाउनुभयो ।

वरिष्ठ साहित्यकार एवं परिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमीले स्थानीय कला,संस्कृतिको प्रवद्र्धनका लागि थिएटर हलको विकास गर्न सकिने सुझाव दिनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं सञ्चार डायस्पोरा संयोजक शशी लुमुम्बूले स्थानीय कला संस्कृतिको विकास,संरक्षण र संवद्र्धनका लागि स्थानीय तहसम्म मानवस्रोतसाधन सहितको संरचनाको परिकल्पना प्रज्ञा प्रतिष्ठानको रहेको विषय स्मरण गराउनुभयो । केहि जिल्लाका स्थानीय तहले यो काम सुरुवात गरिसकेको जानकारी दिनुहुदै प्राज्ञ लुमुम्बूले त्यस खालको काम गर्न बुढानीलकण्ठ नगरपालिकासँग प्रज्ञा प्रतिष्ठान सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

चित्रकार दिपेन्द्र बनेपाली,साहित्यकार रमेश कँडेल,चित्रकार बाबु साँइला लगायतले पनि नगरको शिक्षा,संस्कृति तथा कला क्षेत्रको विकासमा आफूहरुको साथ रहने बताउनुभयो ।

नव निर्वाचित नगर प्रमुख अधिकारी र उपप्रमुख लामालाई चित्रकार बनेपालीको टिमले नेवारी संस्कृति अनुसारको खाना सगुन स्वरुप खुवाउँदा भेटघाट कार्यक्रम संस्कृतीमय बनेको थियो ।

जेसुम अभियानको संस्थापक संयोजक समेत रहनुभएका लामा नगरको उपप्रमुखमा निर्वाचित भएको खुसीयालीमा बधाई ज्ञापन गर्न यो टोली बुढानीलकण्ठ पुगेको हो ।

कार्यक्रममा सहभागि साहित्यकार,चित्रकार,पत्रकारहरुको टोलीले नगरप्रमुख अधिकारी र उपप्रमुख लामालाई शब्द एवं फूलको गुच्छाद्धारा बधाई तथा कार्यकाल उपलब्धिमूलक होस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा टोलीलाई नगरप्रमुख अधिकारी,उपप्रमुख लामा र प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेले नगरको तर्फबाट मायाको चिनो स्वरुप डायरी प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !