पाँचखाल-पाँच दलिय गठबन्धनलाई चिर्दै काभ्रेको पाँचखाल नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार सुर्यमाया दनुवार विजयी हुनुभएको छ ।

नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी,जसपा, माओवादी लगायतका दलहरुको गठबन्धनबाट निर्वाचनमा होमिएका माओवादी केन्द्रका चेतप्रसाद गौतमलाई ५२४ मतान्तरले पराजित गर्दै दनुवार उपप्रमुखमा निर्वाचित हुनुभएको हो । आइतबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार दनुवारले ९५३४ मत प्राप्त गर्दा गौतमले ९०१० मत पाउनुभयो।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट उदाउनुभएका दनुवारले पार्टी,पार्टीको आदिवासी जनजाति फोरम एवं सञ्चार क्षेत्रमार्फत समेत जनताका आवाज मुखरित गर्दै आउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं पाँचखाल नगर सह-इञ्चार्ज रहेका दनुवारले २०७४ को स्थानीय तहको निर्वाचनमै उपप्रमुखको टिकट पाउने चर्चा चलेको थियो । उहाँलाई टिकट नदिएकै कारण पाँचखालमा हार भएको विश्लेषण पनि गरिएको थियो ।

उहाँको जितसँगै पाँचखालबासीले यहाँको समृद्धिका लागि महत्वपूर्ण भूमिकाको अपेक्षा गरेका छन् । दनुवार निर्वाचित हुनु पाँचखालबासी एवं एमालेजनलाई खुसीको खबर हो नै, नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार शसक्त, उर्जाशील व्यक्तित्व युवा नेता कञ्चन अधिकारीको पराजयले भने स्थानीय एमालेजनले पिडाबोध गरेका छन् ।

निर्वाचनमा उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेसका महेश खरेल झण्डै ५ हजार मतान्तरले पुनः प्रमुखमा निर्वाचित हुनुभएको हो ।

यो पटक एमालेले उप प्रमुख जितेपनि वडा अध्यक्ष र कार्यपालिकामा नेपाली कांग्रेसले स्पष्ट बहुमत बटुलेको छ ।

एमालेले तीन वटा वडामा जितेको छ । माओवादी र नेकपा एकीकृत समाजवादीले एउटा/एउटा वडामा र नेपाली कांग्रेसले आठ वडामा विजयको झण्डा फहराएको छ ।

प्रतिक्रिया दिनुहोस !