पोखरी नारायणस्थान-कडा प्रतिस्पर्धा हुदै अन्ततः मतान्तर बढाउदै काभ्रेको तेमाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस,माओवादी, एकिकृत समाजवादी सहितको गठबन्धन विजयी भएको छ ।

काँग्रेसका तर्फबाट गठबन्धनको अध्यक्ष उम्मेदवार चन्द्र लामाले
७०७८ मत ल्याएर अध्यक्षमा जित हाँसिल गरेका हुन् भने उपाध्यक्षमा पनि गठवन्धनकै माओवादी नेता दलमान(डिएम) थोकर ६६६० मत प्राप्त गरी विजयी भएका हुन् ।

एमालेका अध्यक्षका उम्मेदवार इन्द्र तामाङले ५९०० र उपाध्यक्षका उम्मेदवार सम्तेन लामाले ४९७२ मत ल्याउँदा ११७८ मतान्तरले गठबन्धनको अध्यक्ष निर्वाचित भएका हुन् ।

यो पटकको स्थानीय तहको निर्वाचनमा काभ्रेको तेमाल गाउँपालिकामा नेकपा एमालेका प्रभावशाली नेता इन्द्र तामाङ अध्यक्षको प्रतिस्पर्धामा उत्रनु सबैको चासोको विषय थियो ।

एमाले काभ्रेको पूर्व उपसचिव रहेका तामाङ तेमालको विकास निर्माण तथा जनजीविकामा भिजेकोले यहाँका जनताका लागि चिरपरिचित पात्र हुन् । तेमालमा एमालेको ४५०० हजार सुरक्षित मत रहेको र थप लोकप्रिय मत प्राप्त गरी उनको जित हुने प्रक्षेपण थियो ।

विपक्षी गठबन्धन दलका नेताहरु समेतको रिपोर्टिङ उनले जित्न सक्ने आंकलन सहितको थियो । सामान्य शैलीमा घरदैलो अभियान गरेर थप जनताको मन जित्न सफल उनले कुनै दबाब,प्रभाव,प्रलोभनमा पार्ने विषयलाई सूचिमै राखेनन् ।

उनले आफ्नो जन्मभूमि,राजनीतिको आधार इलाका सर्स्यूंखर्क १ र २ नं वडा चुखाबाट करीब करीब आंकलन गरेको मत पाए । जहाँ उनले कुशलतापूर्वक गाविस उपाध्यक्षको भुमिका निर्वाह गरेका थिए । पुनः संरचना गर्दा २ वडामा बाँडिएको २ वटा वडाबाट मात्रै झण्डै १५ सय मत प्राप्त गरेका उनले ३ र ४ नं वडाबाट पनि राम्रै मत पाए ।

५ नं वडा गठवन्धनका तर्फबाट अध्यक्ष लडेका चन्द्र लामाको भएपनि सोचेभन्दा बढि मत प्राप्त गरेको एमाले अध्यक्षका उम्मेदवार तामाङ बताउँछन् । उनका अनुसार यहाँ ४ सय मत प्राप्त गर्ने अनुमान गरेकोमा ५५७ पाएको र १७५९ गठबन्धन उम्मेदवार लामाले पाए ।

वडा नं ६ ठूलो पर्सेलमा भने अलि धक्का महसुस गरेको एमाले तेमाल गाउँ कमिटीको विश्लेषण छ । ग्रासलेवलबाट १ हजार बढि मत पाउने रिपोर्टिङ आएपनि उनले यहाँ ७०६ मत मात्र पाए भने गठबन्धनको अध्यक्ष उम्मेदवार लामाले ७३६ मत प्राप्त गरे । यो मतलाई एमालेले औसतमा भने राम्रै मानेको छ ।

एमालेको अपेक्षा बढि ६, ७ र ८ नं वडामा थियो । ७ र ८ नं वडामा क्रमश एमालेका वडा अध्यक्ष उम्मेदवार इन्द्रमान तामाङ र वलराम रायमाझीले जित्ने विश्लेषण थियो । त्यो पूरा हुन सकेन । तर २ जना वडा सदस्य भने एमालेले जितेको छ ।

पालिकामा उपाध्यक्षमा पनि जित्ने सम्भावना देखिएको थियो ।
माओवादीबाट गठबन्धनको उपाध्यक्ष उम्मेदवार दलमान(डिएम) थोकरले बाजी मारे । यद्यपि एमाले उपाध्यक्षका उम्मेदवार सम्तेन लामाले पनि कमजोर मत ल्याएको भने हैन ।

५ नं वडामा गठबन्धनले बोकाएको मतको ऋण ७ र ८ नं वडाबाट तिर्न नसकेपछि एमाले उम्मेदवारलाई सकस परेको हो । आफ्नो क्षेत्र भएकोले उपाध्यक्षका उम्मेदवार सम्तेन लामाले अध्यक्षका उम्मेदवार भन्दा केहि बढि पाइन् । अध्यक्षका उम्मेदवार तामाङले ७३० मत पाउँदा सम्तेनले ८०४ मत पाइन् । उनका प्रतिद्वन्दी गठबन्धनमा माओवादीका दलमानले भने ६९८ मात्रै प्राप्त गरे ।

तेमालका ३ वटा दल काँग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादी दलको गठबन्धनका सामु प्रतिस्पर्धा गरेर एमालेका नेता इन्द्र तामाङले ल्याएको मत चानचुने भने हैन । यसलाई सबैले सम्मानजनक मानेका छन् । यसबाट तेमालमा इन्द्र तामाङको लोकप्रियता उजागर त भएको छ तर उनले अघि सारेको तेमाल समृद्धि,सुखी तेमाले योजना पुरा गर्ने सपना भने केहि पछि धकेलिएको छ ।

यो पटकको निर्वाचनमा अझै तेमालका जनताले इन्द्र तामाङलाई बुझ्न नसकिएको भन्दै एमाले कार्यकर्ताले पिडा व्यक्त गरेका छन् । एक स्थानीय बुद्धिजीवीले भने-‘यत्तिको व्यक्तित्व बनाएको,तेमाललाई बुझेको नेता पाउन अब धेरै समय कुर्नुपर्ने हुन्छ ।’ तामाङ एमाले कम्युनिष्ट पार्टी मार्फत सामाजिक तथा राजनैतिक अभियानमा लागेको झण्डै ४ दशक भएको बताईएको छ । एमाले नेता तामाङ सडक,खानेपानी,वन तथा भुमि सम्बन्धी विज्ञ नै मानिन्छ ।

जोसँग अठोट,साहस र संकल्प छ,उनले तत्काल तेमालको नेतृत्व गर्न नपाउनु उनको जन्मथलो सर्स्यूंखर्कका जनतामात्रै हैन तेमालका सारा जनताको दुर्भाग्य हुने अवस्था जितेका नेतृत्वले सिर्जना गर्न नहुने तेमालका बुद्धिजीवीहरु जोड दिन्छन् ।

नेपाली काँग्रेसका शालिन तथा इमान्दार नेता मानिएका चन्द्र लामाले अध्यक्ष र नेकपा माओवादी केन्द्रका दलमान(डिएम) थोकरले उपाध्यक्षको बागडोर सम्हाल्दै गर्दा उनिहरूले पनि तेमालको विकासकै लागि जनतासामु व्यक्त गरेका प्रतिबद्धता पुरा गर्न तदारुकता,इमान्दारीता अपनाउने विश्वास गर्न सकिन्छ ।

साँच्चै तेमालको समृद्धि चाहाने हो भने एमाले अध्यक्षका उम्मेदवार तामाङले भने जस्तै यो पार्टी, त्यो पार्टी,त्यो जात उ जात नभनि सबै वर्ग,समुदाय तथा दलको भावना अटाउने थलो पालिकाको गाउँसभा तथा सरकार हुनुपर्ने स्थानीय बुद्धिजीवीहरुको सुझाव छ ।

यहाँको चुनावी परिणाम हेर्दा पनि यहि म्याण्डेटसाथ तेमालका जनताले गाउँस्तरबाट मिश्रित रुपमा नेकपा एमाले,नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र पार्टीमार्फत आफ्ना प्रतिनिधिहरुलाई चुनेर पठाएका हुन् भन्न सकिन्छ ।

तेमालका ९ वटा वडाहरुमध्ये १ र ४ नं वडामा नेकपा एमालेका उम्मेदवारले जितेका छन् । २,५,६ र ९ नं वडामा नेकपा माओवादी केन्द्रले जितको हो । पालिका अध्यक्ष पोल्टामा पारेको काँग्रेसले वडा नं ३,७ र ८ मा विजयीको झण्डा फहराएको छ ।

प्रतिक्रिया दिनुहोस !