पोखरी नरायणस्थान–काभ्रेको तेमाल गाउँपालिका वडा नं. ५ मा खसेको जम्मा मतभन्दा बढि मतपत्र भेटिएको छ । गत वैशाख ३० गते सम्पन्न मतदानमा २ वटा वुथमा गरी २ हजार ४ सय ८२ मत खसेकोमा अहिले गणनाको क्रममा २ हजार ४ सय ९० फेला परेको हो ।
मत गणनाका लागि मत पेटिकाबाट खनाएर हेर्दा मतपत्र तलमाथि भएको भेटिएको हो । २ पटक गनेर हेर्दा पनि जम्मा खसेको मतभन्दा ८ मत बढि नै पाएपछि जनमानसले समेत प्रश्न उठाएका छन् । निर्वाचनको निश्पक्षतामाथि प्रश्न खडा भएको हो ।
मतगणनाको शुरुवाती दिनदेखि नै पत्रकारलाई पनि प्रवेशमा कडाई गर्दै आएको छ । वडा नं. १ को मतगन्ने क्रममा भएको विवादका बेला जस्तै आज पनि प्रवेश निषेध गरेका छन् । समयमै सत्यतथ्य जानकारी नपाएकोमा रुष्ट स्थानीयले झनै आजको यो विषयलाई धाँधलीको संज्ञा दिएका छन् ।
दलका नेताहरुले समेत शुरुदेखि नै निर्वाचन अधिकृतको कार्यक्षमतामाथि असन्तुष्टि जनाइरहेका छन् । वडा नं. ५ मा देखिएको समस्याबारे अहिले सर्वदलिय बैठकको तयारी भएको छ । पोखरी नारायणस्थानस्थित माथिल्लो वुथमा १२१७ र गिम्दीस्थित तल्लो वुथमा १२६५ मत खसेको थियो ।
यो गठबन्धनमा नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष उम्मेद्वार चन्द्र लामाको क्षेत्र हो । एमालेका तर्फबाट अध्यक्ष उम्मेद्वार इन्द्र तामाङको क्षेत्र वडा नं. १ को भने आईतबार राती गणना सकिएर परिणाम सार्वजनिक भइसकेको छ ।