
काठमाडौँ-आसन्न स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट सिन्धुलीको गोलान्जोर गाउँपालिका अध्यक्ष पदमा उठेका लोकप्रिय उम्मेदवार शंखरराज बरालले नेपाली काँग्रेस-माओवादी केन्द्र लगायतका दल सम्मिलित गठबन्धनका नेता तथा कार्यकर्ताको समेत मन जित्ने विश्लेषण गरिएको छ ।
बाध्यताले गठबन्धनको चुनावी अभियानमा सामेल भएता पनि भोटचाहिँ सूर्य चिन्हबाहक बराल र उनको टिमलाई नै दिएर जिताउनुपर्ने गठबन्धनका नेता तथा कार्यकर्ताहरूले नै बताउने गरेका छन् । गोलान्जोरको विकास र समृद्धिका लागि बराल र उनको टिमको कुनै विकल्प नरहेको स्थानीयहरू बताउँछन् । बराल गोलान्जोरकै लोकप्रिय नेता हुन् । सरल, शालीन र मिलनसार स्वभावका बराल स्वच्छ छवि भएका नेता मानिन्छन् ।
यही कारण उनी पार्टीबाट सर्वसम्मतरूपमा अध्यक्षको उम्मेदवार सिफारिस भएका थिए । उनीप्रति गठबन्धनका नेता, कार्यकर्ता र जनताको सद्भाव रहेका कारण उनको विजय लगभग निश्चित भइसकेको बताउँछन् स्थानीय बुद्धिजीवीहरू ।
अध्यक्षका लागि गठबन्धनका उम्मेदवार रहेका निवर्तमान गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसका पुष्प कार्कीप्रति स्थानीयहरू निकै असन्तुष्ट रहेको पाइन्छ । पाँच वर्षे कार्यकालमा कार्कीले भ्रष्टाचार र अनिमियतालाई प्रश्रय दिएको र जनताका समस्यलाई बेवास्ता गरेको आरोप छ ।
कार्कीले पालिकाको बजेटबाट सवारी साधन खरिद गरी आफन्तको नाममा राखी भाडामा लगाएको आरोप छ । यसका साथै उनको कार्यकालमा रु. ८७ लाख २९ हजार बेरुजु देखिएको छ ।
गठबन्धनबाट उपाध्यक्षका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का ज्वालाप्रसाद न्यौपानेले २०७४ सालको स्थानीय निर्वाचनका क्रममा छपाएका प्रचार सामग्रीबापतको रकम हालसम्म भुक्तानी नगरेको स्थानीय बताउँछन् । स्थानीय इनद्रबहादुर कार्की भन्छन्– ‘शंखरराज बरालको कुनै विकल्प छैन । भोट उनैलाई दिने हो । जित्ने पनि उनैले हो ।’