
पाँचखाल–नेकपा एमालेको तर्फबाट पाँचखाल नगरपालिकाका मेयर पदका उम्मेदवार कञ्चन अधिकारीले नेकपा एमालेले नै पाँचखालको रुप बदल्ने बताउनुभएको छ । पाँचखाल नगरपालिका वडा न. ७ मा आइतवार आयोजित नेकपा एमालेको चुनावी कार्यक्रमलाई संवोधन गर्दै उहाँले एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाकै पहलमा पाँचखालको रुप बदल्ने अभियान सुरु भएको भन्दै अधिकारीले महेश खरेल नेतृत्वमा नगरपालिकाले केही काम गर्न नै नसकेको दावी गर्नुभयो ।
एमालेको नेतृत्वमा प्रदेश र केन्द्रको सरकार हुँदा पाँचखालमा पर्याप्त बजेट आएको र त्यसलाई नै देखाएर निवर्तमान नगरप्रमुख खरेलले झुटको खेती गरिरहेको अधिकारीको तर्क छ । पाँचखालको सडक, पूर्वाधार लगायतका क्षेत्रमा एमालेकै नेतृत्वको सरकार हुँदा सबैभन्दा बढी बजेट आएको अधिकारीले जानकारी दिनुभयो ।
पाँचखाल नगरका जनतालाई झुक्याउने काम भइरहेको र अब जनताले त्यसमा विश्वास नगर्ने उहाँले बताउनुभयो । पाँचखाल नगरपालिकामा अहिलेसम्म शिक्षा समितिसमेत बनाउन नसक्नेले शिक्षाको विकास गर्छु भनेर भन्नु भ्रमको खेतीमात्रै भएको अधिकारीले स्पष्ट पार्नुभयो । जनजाति, किसान, युवा, महिलाका लागि पाँच बर्षको अवधीमा केही गर्न नसक्ने खरेललाई जनतासामू मत माग्ने नैतिकतासमेत नभएको अधिकारीको भनाई छ ।
एमालेले पाँचखाल नगरपालिकामा विजयी भएसँगै कृषि क्षेत्रको विकासबाट समृद्धिको यात्रामा थप पाइला अघि बढ्ने अधिकारीले बताउनुभयो । उहाँले पाँचखालमा युवालाई स्वरोजगार बनाउने, पाँचखालमा किसान कोल्डस्टोर बनाउने लगायतका योजना एमालेले ल्याएको र त्यो कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।