तेमाल-काभ्रेको तेमाल गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार इन्द्र तामाङले आफुले जितेमा तेमालका जनताले घरदैलोमै स्वास्थ्य सेवा पाउने प्रतिबद्धता जनाउनुभएको छ ।
नेकपा एमाले तेमाल गाउँपालिका कमिटीले तयार गरेको प्रतिबद्धतापत्रबारे बोल्दै उहाँले भन्नुभयो-‘मैले जितेमा घरदैलोमै गएर निशुल्क स्वास्थ्य उपचार गराउँछु,यसले अशक्त, वृद्धवृधाहरु बढि लाभान्वित हुनेछन् ।’
स्थानीय सरकारले दिने स्वास्थ्य सेवालाई थप व्यवस्थित र विस्तारितका साथै सहज बनाउन आफूले यसो गर्ने उहाँको भनाई छ ।
स्वस्थ नागरिक समुन्नत र समृद्ध तेमालको महत्वपूर्ण आधार रहेको भन्दै उहाँले यसप्रति आफ्नो ध्यान जाने बताउनुभएको हो ।
सामाजिक सुरक्षा भत्ताका लागि अशक्त,अपाङ्गता भएका भएका,बृद्धबृद्धालाई बैंक सम्म धाउनुपर्ने झञ्झटिलो प्रक्रियालाई समेत सहज बनाउने उहाँको प्रतिबद्धता छ ।
‘बैंकसँग सहजिकरण गरेर म घरघरमै भत्ता बाँड्ने अवस्था बनाउँछु ।’-अध्यक्षका उम्मेदवार तामाङले भन्नुभयो ।
तेमाल सरकारको प्रशासनिक सेवा सुधारदेखि योजनाबद्ध रुपमा तेमाल को विकासका लागि एमालेबाट उम्मेदवार भएका आफूहरु सक्षम रहेको उहाँको धारणा छ ।
यो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गर्दै एमालेको प्रतिवद्धता बोकेर अहिले अध्यक्षका उम्मेदवार इन्द्र तामाङ, उपाध्यक्षका उम्मेदवार सम्तेन लामा लगायतको टोली तेमालको जनताको घरदैलोमा रहेको पालिका कमिटी इञ्चार्ज जेनिश लामाले जानकारी दिनुभयो ।