सबै नगरवासीको स्वास्थ्य बिमा गरिने,३ महिनाभित्र नगर अस्पताल सञ्चालन हुने :
काभ्रे–नेकपा एमाले पनौती नगरपालिकाका प्रमुख पदका उम्मेदवार भीम न्यौपानेले यसअघि आफ्नो कार्यकालमा कृषि क्षेत्रमा भएका कामलाई निरन्तरता दिदै सबै किसान लाभान्वित हुनेगरी किसान पेन्सन योजना सञ्चालन गरिने प्रतिवद्धता जनाउनुभएको छ । नगर प्रमुख भएर यो ५ वर्षमै कृषि क्षेत्रका लागि नमुनायोग्य कार्यक्रमहरु सञ्चालन गरेर प्रशंसा पाएका न्यौपानेले पुन ः निर्वाचित भएर आएमा किसान पेन्सन कार्यक्रम कार्यन्वयन गर्ने बताउनुभएको हो । संसारलाई बचाउन अहोरात्र खट्ने किसानहरुको पसीनाको सम्मान र प्रोत्साहनका लागि यो कार्यक्रम आवश्यक रहेको उहाँको भनाई छ ।
उहाँले यो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा जारी गरिएको प्रतिवद्धतापत्रमा सबै नगरवासीको स्वास्थ्य बिमा गरिने समेत उल्लेख गरेको बताउनुभयो । यसअघि नगरपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको थियो । ४० वर्ष नाघेका सबै नगरवासीको वर्षको एकपटक पुर्ण स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाउने नगरप्रमुखका उम्मेदवार न्यौपानेले बताउनुभएको छ । प्रतिवद्धता पत्रमा पर्याप्त स्थान र सुविधा सहितको बसपार्कको व्यवस्थापन पहिलो प्राथमिकतामा राखेर काम गर्ने उल्लेख छ ।
मानेश्वरी स्थित बसपार्कलाई प्रस्थान र आगमन तथा पनौती भ्रमणमा आउने पाहुनाहरुका लागि आवश्यक सुचना दिने केन्द्रको रुपमा विकास गर्ने योजना छ । वडाका प्रमुख केन्द्रसम्म पुग्नेगरी सडकहरुलाई कालोपत्रे वा ढलान गरी पक्की बनाउने, पुण्यमाता, रोशी, सुडीखोलाहरुको दायाँबाँया करिडोर निर्माण गर्ने पनि प्रतिवद्धतापत्रमा उल्लेख छ ।
उहाँले तीन महिनाभित्र विशेषज्ञ सेवा सहित नगर अस्पताल सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले पनौतीमा निर्माणाधिन २५ शैयाको नगर अस्पताल आवश्यक जनशक्ति, औषधि, यन्त्र, उपकरण, प्रयोगशाला तथा विशेषज्ञ सेवा सहित ३ महिनाभित्र सञ्चालनमा ल्याइने बताउनुभएको हो ।
नगर प्रमुख पदका उम्मेदवार न्यौपानेले पनौती नगरपालिकालाई गुणस्तरिय शिक्षाको हवको रुपमा विकास गर्ने पनि बताउनुभएको छ । आधारभुत तहमा सम्भाव्यताको आधारमा मातृभाषामा शिक्षणको व्यवस्था मिलाउने भन्दै उहाँले नगरभित्रका सामुदायिक उच्च मावि र क्याम्पसहरुमा अध्ययन गर्ने सबै छात्राहरु एवं दलित, उत्पिडित र अत्यन्त न्युन आय भएका विद्यार्थीलाई निशुल्क अध्ययनको व्यवस्था मिलाइने बताउनुभयो ।
एक घर, एक धारा कार्यक्रमलाई निरन्तरता दिई आगामी ५ वर्षभित्र सबै घरमा शुद्ध पिउने पानीको धारा पुर्याउने उहाँको प्रतिवद्धता छ । मेरो शहर म सफा गर्छु अभियान सञ्चालन गरेर शहरलाई प्रदुषणमुक्त बनाउने न्यौपानेले बताउनुभयो ।
नगर प्रमुख पदका उम्मेदवार न्यौपानेले पनौतीलाई विश्वसम्पदा सुचीमा सुचिकृत गर्न गरिएको पहललाई परिणामामुखी बनाउने समेत बताउनुभयो । सबै धर्म र संस्कृतिलाई पनौतीको धरोहरका रुपमा समान व्यवहार र श्रद्धा गर्र्दै पनौतीमा चलनचल्तीमा रहेका परम्परा, रीतिरिवाज, र संस्कृतिहरुको संरक्षणका लागि व्यवस्थित र दिर्घकालिन कार्ययोजना लागु गर्ने उहाँको भनाई छ ।
यस्तै उप प्रमु्ख पदका उम्मेदवार गीता बञ्जाराले सबै वडामा कम्तिमा एउटा बाल उद्यान र सबै टोलहरुमा बालबालिकाहरुका लागि एक खेल मैदान बनाइने बताउनुभएको छ । यस्तै सबै जेष्ठ नागरिकलाई वर्षमा एकपटक तिर्थाटको व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।
रोजगारी सिर्जनागर्नका लागि स्थानीय स्तरमा उत्पादित वस्तुहरुबाट हुने लघु उद्योग स्थापनालाई प्रोत्साहित गर्दै उद्योग स्थापनाका लागि अनुदान र उद्योग दर्ता प्रमाणपत्रको आधारमा सहुलियत ऋणको व्यवस्था मिलाइने प्रतिवद्धता पत्रमा जनाइएको छ । वार्षिक रुपमा वृक्षारोपण सप्ताह घोषणा गर्ने र प्रत्येक वर्ष स्थानीय वातावरण अनुकुल १० हजार विरुवा रोप्ने योजना छ । सामुदायिक वनभित्र फलफुल, जडिबुटी लगायतका विरुवाहरु वृक्षारोपाण गरि आयआर्जनसँग जोड्ने नीति लिइने उल्लेख छ ।
संवेदनशिल स्थानमा सि.सि क्यामेरा मार्फत सुरक्षा निगरानी गर्ने व्यवस्था मिलाइने व्यवस्था गरिने पनि एमाले नगर कमिटिले तयार गरेको प्रतिवद्धता पत्रमा उल्लेख छ ।