दाप्चा–काभ्रेको नमोबुद्ध नगरपालिकाले वडा नं. ७ र ९ मा पनि पक्की निर्माण सम्पन्न गरेको छ । नगरबासीलाई सेवा प्रवाहमा सजहता ल्याउने उद्देश्यले नगरपालिकाले सबै वडामा सुविधासम्पन्न भवन निर्माण गर्ने क्रममा पछिल्लो यो दुई वटा वडाको भवन सम्पन्न गरेको हो ।

वडा नं. ७ को भवन निर्माणको ठेक्का सिद्धिविनायक निर्माण सेवा धुलिखेलले भ्याटबाहेक ४० लाख ८७ हजार ६ सय ८५ रुपैयाँ र वडा नं. ९ को भवन निर्माणको ठेक्का जानुका निर्माण सेवा पनौतीले भ्याटबाहेक ४१ लाख ४४ हजार २ सय २३ रुपैयाँमा प्राप्त गरेका थिए ।

यि दुईवटा वडामा निर्माण गरिएको वडा कार्यालय भवनको हालै नगरपालिकाका प्रमुख टी.पी शर्मा तिमल्सिनाले उद्घाटन गर्नुभयो । नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले आफूहरु निर्वाचित भएदेखि नै नगरबासीको सहजताका लागि वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिपरेको र सोही अनुसार सबै वडाको भवन निर्माणको काम गरेको बताउनुभयो । कार्यकालको अन्तिम समयमा आइपुग्दा सबै वडाको भवन निर्माण सकेर सेवा प्रवाहलाई थप सहज बनाउनु आफूहरुका लागि गौरवको कुरा भएको तिमल्सिनाको भनाई थियो ।

नमोबुद्ध नगरपालिकाले यही आर्थिक वर्षभित्र सबै वडाको भवन तथा स्वास्थ्य संस्थाका भवनहरुको निर्माण सक्ने लक्ष्य लिएको थियो । यसअघि वडा नं. २, ८, १० र ११ को वडा कार्यालय भवन उद्घाटन भईसकेका छन् भने वडा नं. ३ र ६ को नयाँ भवनबाट सेवा प्रवाह सुरु भइसकेको छ । यस्तै वडा नं. १ को भवन निर्माणका लागि टेण्डर भइसकेको छ भने वडा नं. ४ र ५ को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।

यस्तै वडा नंं ७ का वडा अध्यक्ष धर्मसिं लामा, वडा नंं ९ का वडाअध्यक्ष मेलवहादुर लामाले सबैको सहयोगबाट आआफ्नो वडा कार्यालयमा सुविधासम्पन्न भवन निर्माण भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !