चौरीदेउराली–काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नंं ३ माझीफेदाका स्थानीय जनताको घरका आँगन आँगनमा धारासहित खानेपानी पुगेको छ । चौंरीदेउराली गाउँपालिका,बागमती प्रदेश सांसद एवं प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालको पहलमा प्रदेश सरकार,प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङ वमध्वजको पहलमा संघीय सरकारको त्रिपक्षिय साझेदारीमा सम्पन्न योजनाले माझीफेदाका ६ सय ६९ घरधुरीका स्थानीय लाभान्वित भएका हुन् ।
बालमैत्रीसहितको धारा निर्माण तथा खानेपानी व्यवस्थापन गरिएपछि शुक्रबार संघीय प्रतिनिधिसभा सांसद दोङ,मन्त्री ढकालले धारामा पानी खोलेर यो वडालाई ‘एक घर एक धारा सहित आधारभूत खानेपानी पहुँच युक्त वडा’ घोषणा गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दोङले चौंरीदेउरालीमा देखिएको खानेपानी समस्या समाधानका विषयमा ६ वर्षअघि आफूहरु निर्वाचित हुनुपूर्व नै बनाएको योजना सफल भएको बताउनुभयो । सुख्खा क्षेत्र चौंरीदेउरालीमा जनताको घरघमा खानेपानी पुर्याउन सफल भएजस्तै सडक,विजुली,स्वास्थ्य,शिक्षा लगायतका क्षेत्रमा पनि अनुकरणीय काम भइरहेको उहाँको दावी छ ।
संविधानसभा सदस्य कमला दोङले संविधानले जनताको आधारभूत आवश्यकताको रुपमा सुनिश्चित गरेको खानेपानीको पहँुचको विकास हुनु सुखद पक्ष रहेको बताउनुभयो । उहाँले आफूहरुले लिएको पहलकदमीले साकार रुप पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री ढकालले खानेपानी जनताको आधारभुत अधिकार रहेको भन्दै त्यसको व्यवहारिक कार्यन्वयन चौंरीदेउरालीमा भएको बताउनुभयो ।
स्थानीय तहमा निर्वाचितहरुको यो कार्यकाल १ महिनामा सकिने उल्लेख गर्दै उहाँले प्रदेशसभामा आफ्नो बाँकी ९ महिनाको कार्यकाल भित्र चौंरीदेउरालीको बाँकी सबै क्षेत्रमा ‘एक घर एक धारा’ खानेपानी कार्यक्रम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो । गाउँपालिकासँग मिलेर मुहानको पहिचान,बस्ती माथि मुहान नभएका वडाहरुमा लिफ्टिङ योजनाहरु सञ्चालनमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले नेपाल सरकारले भन्दा अगाडि नै ‘एक घर एक धारा’ एवं सरसफाई कार्यक्रम आफूहरुले सुरुवात गरेको र त्यसमा सफलता प्राप्त गरेको दावी गर्नुभयो । निर्वाचित भएको दोस्रो वर्ष देखि नै खानेपानी योजनाका कामहरुमा विशेष जोड दिएको उहाँको भनाई छ ।
अरु ६ वटा वडामा साना देखि वृहत लिफ्टिङ खानेपानी योजनासम्मका खानेपानी कार्यक्रम सञ्चालन अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । आफ्नो यहि कार्यकालभित्र पालिकाका सबै जनताको घरघरमा धारा पुर्याउने लक्ष्यका साथ काम गरेपनि ठेकेदारको ढिलासुस्तीका कारण ३ महिनापछि मात्रै त्यो सफल हुने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
उहाँले भोलि जुन सुकै पार्टीका व्यक्ति जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएपनि चौरीदेउरालीमा अब थाल्न बाँकी विकास निर्माणका काम कुनै पनि बाँकी नरहेको जिकिर गर्नुभयो ।
गैरसरकारी संस्था महासंघ नेपालका पूर्व अध्यक्ष एवं नेकपा एमाले चौरीदेउराली गाउँपालिका कमिटिका अध्यक्ष जितराम लामाले स्थानीय तहको गत चुनावमा वडा अध्यक्षले व्यक्त गरेको आफ्नो प्रतिवद्धता पुरा गरेको जनाउँदै काभ्रेका पालिकाहरुमा ‘एक घर एक धारासहित खानेपानी पहुँच युक्त वडा घोषणा’ सम्भवत : पहिलो नै रहेको बताउनुभयो ।
ग्रामीण समाज कल्याण संघ(आर्सो) नेपाल मार्फत खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्दै आएका तिनै संस्थाका अध्यक्ष समेत रहेका लामाले अब चौरीदेउरालीमा अधुरा रहेका योजना तथा काम अर्को चुनावबाट निर्वाचित भएर आउने जनप्रतिनिधिले पुरा गर्नेछन् भन्दै उहाँले अहिलेका जनप्रतिनिधि निरास भइहाल्न नपर्ने जिकिर गर्नुभयो ।
वडा अध्यक्ष विनोद घिसिङले अब करिव ५० वर्ष यहाँका जनताले खानेपानीको समस्या वेहोर्न नपर्ने बताउनुभयो । यहि सर्वेक्षणका साथ माझीफेदामा भालुखोला लगायतका मुहानबाट पाइप बिछ्याएर खानेपानीको व्यवस्थाका साथै विश्व स्वास्थ्य संगठनको न्युनतम मापदण्डभन्दा बढि गुणस्तरको धारा समेत जडान गरेको दावी गर्नुभयो ।
यो विकासलाई दिगो बनाउन पानीको मुहान संरक्षण र मर्मत संभारमा उपभोक्ताको हात रहने भन्दै उहाँले स्थानीय जनता यसप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो । विकासको संरक्षणका लागि मानवीय चेतना,चिन्तन परिवर्तन हुन आवश्यक रहेको वडा अध्यक्ष घिसिङको धारणा छ ।
स्थानीय युवा फेमस घिसिङले यो खानेपानी योजना यहाँका जनताका लागि महत्वपूर्ण रहेको बताउनुभयो । शिक्षक समेत रहेका झलक बहादुर गौतमले यो योजना सम्पन्न भएपछि स्थानीयले ठूलो राहत महसुस गरेको प्रतिक्रिया दिनुभयो । खानेपानीका साथै तरकारी उत्पादन,पशुपालन लगायतमा सहजता आउने उहाँको भनाई छ ।
कार्यक्रममा यो योजना सफल बनाउन प्राविधिक सहयोग गर्ने निर्माण प्राविधिक एवं मिस्त्री,खानेपानी तथा सरसफाई ३ नं.डिभिजन सिन्धसपाल्चोक,ग्रामीण समाज कल्याण संघ नेपाल,वाटर एड,खानेपानी तथा ढल व्यवस्थापन विभाग भक्तपुर,उपभोक्ता समिति,विद्यालय,संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।
‘एक घर एक धारा’ सहित खानेपानी पहुँच युक्त वडा घोषणाका साथै कलाकार निर्मला घिसिङ,जगत घिसिङ,स्थानीय विद्यालयका विद्यार्थीहरुको प्रस्तुतीसहितको कार्यक्रमबीच स्थानीयले खुसीयाली मनाएका छन् ।