काभ्रे–पर्यटन विकासमा जिल्लामा एमालेद्धारा निर्वाचित जनप्रतिनिधिले गरेका कामहरु मध्ये एउटा उदाहरणीय काम हो बनेपाको चण्डेश्वरी सिँढी निर्माण योजना ।
पाकृतिक अनुपम जंगलबीच निर्माणाधीन यो संरचनाको अवस्थाबारे हालै संघीय सांसद एवं पुर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री,नेकपा एमाले काभ्रेका इञ्चार्ज गोकुल बास्कोटाले अनुगमन अवलोकन गर्नुभयो ।
यसक्रममा उहाँले काम निकै राम्रो गतिमा अघि बढेको पाइएको बताउनुभयो । रुख विरुवाको संरक्षणमा जोड दिदै उहाँले पत्रकारहरुलाई भन्नुभयो–‘एमालेले जंगलभित्र पनि विकास गर्छ ।’
देश र जनताको समृद्धिको पक्षमा रहेको एमालेले जंगलभित्र समेत विकास गरेर यसको पुष्टि गरेको उहाँको भनाई थियो ।
बास्कोटाले योजनाको गुणस्तरीयतामा कमी नआहोस् भनेर निर्माण कम्पनीको ध्यानाकर्षण पनि गराउनुभयो ।
यो क्षेत्र आन्तरिकसँगै बाह्य पर्यटकका लागि पनि उपयुक्त हुने बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठले बताउनुभयो ।
यसअघि मान्छे हिड्ने ट्रयाककै लाइनमा सिँढी निर्माण गरिएकोले रुख विरुवा कत्तिपनि क्षति नभएको बनेपा नगरपालिकाका प्रेस संयोजक लक्ष्मण तिमिल्सनाले बताउनुभयो ।
योजनाको पहिलो चरणमा सिँढी निर्माण लगभग सकिएको छ । उहाँका अनुसार यो योजना अन्र्तगत सिँढी निर्माणका साथै रेलिङ,विश्रामस्थल,पार्क,खानेपानी धारा,शौचालय लगायतका संरचना पनि बन्नेछ ।
चण्डेश्वरीदेखि गोसाईथान डाँडासम्म बनाइएको १६ सय सिँढीले सबैको मन लोभ्याउन सक्ने देखिएको छ । अहिले नै विहान मर्निङवाकको क्रममा यो सिँढी क्षेत्र धेरैको रोजाईको पर्न थालिसकेको छ ।
प्रसिद्ध धार्मिक एवं सांस्कृतिक अस्थाको केन्द्र चण्डेश्वरी मन्दिरदेखि सहिद पार्क हुदै डाँडासम्मको क्षेत्रमा बनाएको यो संरचना बनेपा वडा नं. ५ र ६ वडाभित्र पर्दछ ।
सिँढी यात्राको क्रममा ध्यान कुटी,मौलिक एवं सांस्कृतिक शैलिका पाटी,मन्दिर भेटिन्छन् ।
गोसाईथान डाँडामा पुगेपछि बनेपा शहर,महाभारत श्रींखला,उत्तरी क्षेत्रका गौरीशंकर,गणेश,मनास्लु,नुम्बुर लगायतका हिमालहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
५ करोड ३५ लाखमा निर्माण सम्पन्न हुने योजनाका लागि बनेपा नगरपालिकासँग संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्य रहेको छ । खानी/सिएम/क्षितिज जेभी काठमाडौंसँग २०७८ भदौ २९ गते सम्झौता भई सुरु भएको योजना २०७९ असार १५ सम्ममा सकाउनुपर्ने सम्झौता रहेको छ ।
कभर फोटो : मनिराम दाहाल