सस्र्यूंखर्क–नेकपा एमालेले आइतबार काभ्रेको तेमाल गापा वडा नं.१ सर्स्यूंखर्कमा वृहत भेला सम्पन्न गरेको छ । गाउँगाउँमा जनताको सुखःदुख बुझ्दै छलफल,प्रशिक्षण,भेलामार्फत संगठन निर्माणलाई तिव्रता दिएको एमालेले सस्र्यूंखर्कमा संयौको सहभागितामा भेला तथा सभा नै गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व मन्त्री एवं एमाले केन्द्रिय सदस्य रेशम लामाले तेमालमा मात्र नभई नेपालमै एमाले पार्टीको विकल्प नरहेको बताउनुभयो । राष्ट्रियताको पक्षमा लाग्ने र विकास निर्माणको अगुवाई गर्ने पार्टी एमाले नै रहेको उहाँको स्पष्टोक्ती थियो । एमाले जनताको सुखदुखमा संधै साथमा रहने गरेको उल्लेख गर्दै उहाँले स्थानीय तहको निर्वाचनमा जनताको साथ एमालेलाई हुनुपर्ने बताउनुभयो ।
एमाले जिल्ला सचिवालय सदस्य इन्द्र बहादुर तामाङले तेमाल र तेमालका जनताको भावना बुझ्ने पार्टी एमाले नै रहेको दावी गर्नुभयो । एमालेकै अगुवाईमा सर्स्यूंखर्कको मुहार फेरिएको जनाउंदै उहाँले तेमालमा विकासमा लहर ल्याउन स्थानीय सरकारको नेतृत्व एमालेले जित्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
एमाले जिल्ला सचिवालय सदस्य एवं तेमाल गाउँपालिका इञ्चार्ज जेनिश लामाले तेमालको विकास एमालेको नेतृत्वबिना सम्भव नरहेको बताउनुभयो । इञ्चार्ज लामाले गत निर्वाचनमा काँग्रेस नेतृत्वले जितेका कारण तेमालमा अथाह सम्भावना हुदा हुदै पनि विकासको गति अघि बढ्न नसकेको ठोक्कुवा गर्नुभयो ।
सर्स्यूंखर्कको विकास निर्माण तथा समग्र तेमालको सांस्कृतिक पर्यटनको विकास गरी जनताको स्तर माथि उकास्दै यहाँको समृद्धिका लागि एमालेले जित्न अपरिहार्य रहेको उहाँको भनाई छ । एमाले हार्दा उम्मेद्धारले मात्रै हार्ने नभई तेमालको जनता र तेमालबासीको भविश्यले हार्ने भन्दै उहाँले सबै एक भएर एमालेलाई जिताउन आह्वान गर्नुभयो ।
एमाले जिल्ला कमिटि सदस्य घनश्याम लामाले तेमालको समृद्धिको योजना,तत्परता र कटिबद्धता एमालेसँग मात्रै रहेकोले यो पटक तेमालमा एमालेको जीत आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा एमाले तेमाल गाउँपालिका कमिटि अध्यक्ष इन्द्रमान तामाङले काँग्रेस माओवादीको सक्कली रुप छर्लङ्ग भइसकेको उल्लेख गर्दै जनताको आँखामा छारो हाल्ने ति पार्टीलाई जनताले विश्वास गर्न नहुने बताउनुभयो । काँग्रेस,माओवादी र नेकपा एकिकृत समाजवादीले एमसीसी पास जस्ता राष्ट्रघाती काम गरेको उहाँको आरोप थियो ।
एमाले जिल्ला सल्लाहकार परिषद सदस्य एवं पुर्व गाविस अध्यक्ष संग्राम लामाले एमालेको प्रधानमन्त्री मनमोहन अधिकारीको पालाबाट सुरु भएको ‘आफ्नो गाउँ आफैं बनाऔं’,सामाजिक सुरक्षा कार्यक्रमदेखि पछिल्लो एमाले नेतृत्वले अघि सारेको विकासका योजना र कार्यन्वयनको रफ्तारले जनताको आशा एमालेमाथि नै बढाएको बताउनुभयो । यो अभिभारा पूरा गर्न एमालेको स्थानीय जग उत्तिकै बलियो हुनुपर्ने र यसमा आफ्नो मत एमालेप्रति जाहेर गर्न सबैलाई आग्रह गर्नुभयो ।
एमाले सस्र्यंखर्क इञ्चार्ज एवं वडा अध्यक्ष मान वहादुर श्रेष्ठले २०७४ भएको स्थनीय तहको चुनावमा वडाको नेतृत्व एमालेले पाएकै कारण सस्र्यूंखर्कमा सामाजिक,आर्थिक,पूर्वाधार,शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा धेरै विकास सम्भव भएको जानकारी गराउनुभयो । आफ्नो कार्यकालमा सडक,शिक्षा,स्वास्थ्य लगायतमा धेरै प्रगती भएको उहाँले स्पष्ट पार्नुभएको हो ।
कार्यक्रमका अध्यक्ष एमाले १ नं. वडा कमिटि अध्यक्ष इन्द्र अधिकारीले सस्र्यूंखर्कमा एमालेले जनतालाई सडक,विजुली,शिक्षा,कृषि,स्वास्थ्य,खानेपानीका लागि थालेको अभियानले सफलता प्राप्त गर्दै गएको बताउनुभयो । अब व्यवस्थीत विजुली,पक्की सडक,आधुनिक कृषि प्रणालीको विकास लगायतका काममा पनि एमालेको नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा यस अघिका स्थानीय निकायमा निर्वाचित भएर भूमिका निर्वाह गरेका तत्कालीन गाविस अध्यक्ष,उपाध्यक्ष, सदस्य,वडा अध्यक्ष,सदस्य लगायत सबै पूर्व जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।
भेलाले चन्द्रमान तामाङको संयोजकत्वमा ३१ सदस्यीय युवा संघ र रोशनी थपलियाको संयोजकत्वमा २१ सदस्यीय अनेम संघ वडा कमिटि गठन गरेको छ ।
आवश्यकताअनुसार कमिटिहरुमा जिम्मेवारी प्रदान गर्दै जाने वडा कमिटि अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
एमालेको तेमाल १ नं. वडा कमिटिको वडा कार्यालय समेत उद्घाटन गरिएको कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य कल्पना लामा, तेमाल २ नं. वडा अध्यक्ष तिमाल सिं तामाङ,एमाले तेमाल २ नं. वडा कमिटि अध्यक्ष वीरनन्द लामा लगायतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम सञ्चालन गरेका एमाले वडा कमिटि सचिव शंखलाल तामाङले एमालेको वडा ककिमटिको आयोजनामा भएको कार्यक्रममा सहभागि भएका प्रमुख अतिथि,अतिथि,पूर्व जनप्रतिनिधिहरु,सबै जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा स्थानीयले अतिथि तथा पूर्व जनप्रतिनिधिहरुलाई बाजागाजासहित स्वागत तथा सम्मान गरेका थिए ।