
सर्स्यूंखर्क-स्थानीय तहको निर्वाचन तयारीको शिलशिलामा नेकपा एमालेले काभ्रेको तेमालमा छलफल,प्रशिक्षण,भेला जस्ता कार्यक्रमलाई तिव्रता दिएको छ । तेमालका अधिकांश वडाहरुमा पार्टी वडा कार्यालयको उद्घाटनका साथै टोल टोलमा कमिटी गठन गरिसकेको एमालेले वडा नं. १ सर्स्यूंखर्कमा पनि कार्यक्रम तय गरेको छ ।
यहि २० गते आइतबार भेलाको आयोजना गरेको एमाले जिल्ला कमिटी सचिवालय सदस्य इन्द्र तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्व मन्त्री एवं एमाले केन्द्रिय सदस्य रेशम लामाको प्रमुख आतिथ्यतामा हुने भेलाको अवसरमा पार्टीको वडा कार्यालय उद्घाटनका साथै टोल कमिटी गठन गर्ने तय भएको छ ।
भेलामार्फत एमालेको भातृ संगठनहरु समेत निर्माण हुने एमाले १ नं. वडा कमिटी सर्स्यूंखर्कका अध्यक्ष इन्द्र अधिकारीले बताउनुभयो ।
कार्यक्रममा यस अघिका स्थानीय निकायमा निर्वाचित भएर भूमिका निर्वाह गरेका तत्कालीन गाविस अध्यक्ष,उपाध्यक्ष, सदस्य,वडा अध्यक्ष,सदस्य लगायत सबै पूर्व जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिने तेमाल १ नं. वडा अध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्व मन्त्री एवं एमाले केन्द्रीय सदस्य रेशम लामा, एमाले जिल्ला पूर्व उपसचिव एवं वर्तमान सचिवालय सदस्य इन्द्र तामाङ, जिल्ला सचिवालय सदस्य एवं तेमाल गाउँपालिका इञ्चार्ज जेनिश लामा,जिल्ला सदस्य घनश्याम लामा,एमाले तेमाल गाउँपालिका कमिटी अध्यक्ष इन्द्रमान तामाङ लगायतले स्थानीय सरकारको नेतृत्वमा एमालेको आवश्यकता,विकास निर्माणमा हिजोको पहल कदमी र उपलब्धीको विषयमा सम्बोधन गर्ने जनाइएको छ ।