धुलिखेल-‘पढ्दै-कमाउँदै’ कार्यक्रमका लागि काभ्रेको महाभारत गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विद्यालय छनोटमा पर्न सफल भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरी आवेदन माग गरे अनुसार काभ्रेबाट परेका आवेदकहरमध्ये
महाभारत गाउँपालिकास्थित गोकुले मावि र नमोबुद्ध नगरपालिकाको जनक मावि छनोटमा परेका हुन् ।
यसअघि शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समेत छनोट गरेको डाँडापारीको गोकुले माविलाई एक विद्यालय एक नर्स कार्यक्रम पनि परेको थियो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत पढ्दै कमाउँदै कार्यकम (लर्निङ बाइ अर्निङ) विद्यालय सहयोग कार्यक्रमका लागि छानिएका देशभरका १४० सामुदायिक विद्यालयमध्ये काभ्रेका यी दुई विद्यालय पनि छनौटमा पर्न सफल भएको केन्द्रले सूचना मार्फत स्पष्ट पारेको छ ।
यस अन्तर्गत गोकुले माविले वन तथा बृक्षारोपण र जनक माविले कृषि व्यवसायी किट कार्यक्रममा विद्यार्थी सहभागी हुने छन् ।
प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो । सोही अनुसार छनोटमा परेका विद्यालयहरुले काम गर्नेछन् ।
प्रत्येक जिल्लाबाट कम्तीमा एक विद्यालय अनिवार्य र बढीमा पाँच वटा विद्यालय छनोट गरिएको केन्द्रले जानकारी दिएको छ ।