कानपुर–काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुरस्थित काली मन्दिरको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । स्थानीय मैनालीहरुले कुल देवीदेवताको रुपमा मान्दै आएको प्राचीन,ऐतिहासीक,पुरातात्विक मन्दिरमा राष्ट्रपति भण्डारीले विधिपूर्वक पूजा आराधना गर्नुभयो ।
२०७२ वैशाखको भुकम्पले क्षति भएको मन्दिर पुरातत्व विभाग र नमोबुद्ध नगरपालिकाको सहकार्यमा पुनःनिर्माण सकिएपछि उद्घाटन गरिएको स्थानीय वडा अध्यक्ष बुद्ध सिं तामाङले जानकारी दिनुभयो ।
नगरपालिकाद्धारा मन्दिरको औपचारीक उद्घाटन समारोह नै आयोजना गरेपछि खुसीयालीमा स्थानीयहरु बाजागाजा झाँकीसहित सहभागि भएका थिए ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बुद्धको पूर्व जन्मथलोको रुपमा चिनिएको नमोबुद्धमा यस खालको सांस्कृतिक सम्पदाहरुको संरक्षणले पर्यटन विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
दाप्चा तथा नमाबेुद्ध क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न भईरहेको पहलकदमीप्रति खुसी व्यक्ति गर्दै उहाँले यो कार्यमा छिट्टै सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । यि क्षेत्रको पर्यटन प्रवद्र्धनमार्फत स्थानीय जनताको आर्थिक समृद्धिमा योगदान पुग्ने उहाँको विश्वास छ ।
वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाउन स्थानीय सरकारलाई बलियो बनाएको उल्लेख गर्दै उहाँले नमोबुद्ध नगरपालिकाले गरिरहेको विकास निर्माण कामप्रति खुसी व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले नमोबुद्ध नगरपालिकाले वातावरण संरक्षण,स्वास्थ्य तथा बालबालिकाको शिक्षामा गरेको प्रगतिको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेलले पावन भुमि नमोबुद्धमा आउनुभएका राष्ट्रपति भण्डारी लगायत अतिथिहरुलाई मन्तव्यमार्फत स्वागत गर्दै नमाबुद्ध नगरले लिएको विकासको गति र स्थितिबारे अवगत गराउनुभएको थियो ।
नगरपालिकाका प्रमुख टंकप्रसाद शर्माले मन्दिर उद्घाटनका लागि आउनुभएकोमा कृतज्ञता प्रकट गर्दै राष्ट्रपति भण्डारीलाई नमोबुद्ध नगरपालिका र नमोबुद्धका जनताको तर्फबाट अभिनन्दन गर्नुभएको थियो ।