• नमोबुद्ध संवाददाता,

बनेपा–असन्तुष्ट माधव नेपाल समूह चोइटिएर गएपछि नेकपा एमाले काभ्रेले बनेपामा शनिबार पहिलो पटक जिल्लास्तरीय कार्यकर्ता भेला आह्वान गरेको छ । पार्टीका केन्द्रिय महासचिव इश्वर पोखरेलको प्रमुख अतिथ्यतामा हुने भेलाको तयारी पूरा भएको एमाले काभ्रेले जनाएको छ । कायस्थ वेन्क्वेट्मा हुने भेलालाई महासचिव पोखरेलका साथै पार्टी स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले समेत सम्बोधन गर्ने तय भएको छ ।

भेलामा पार्टी विवादको तत्कालिन समयमा अशोक व्यञ्जुको नेतृत्वमा तय भएको जिल्ला कमिटि सदस्यहरु (अधिकांश जिल्ला अधिवेशनबाट निर्वाचितहरु),पालिका र वडा तहसम्मका नेता,कार्यकर्ताका साथै जनवर्गीय संगठनका प्रतिनिधिहरुको व्यापक उपस्थिति रहने विश्वास गरिएको छ ।

अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष टोक बहादुर वाईबासहितका केहि माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) मा लागेपनि काभ्रेको एमाले कार्यकर्तामा उत्साह कम भने देखिदैन,कार्यकर्ता स्वयंले भेलामा सहभागि हुन समाजिक सञ्जालहरुमार्फत सबैलाई आह्वान गरिरहेका छन् । भेला पार्टीलाई अझ सशक्त बनाउन महत्वपूर्ण हुने एमाले काभ्रेका नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !