• नमोबुद्ध संवाददाता,

काठमाडौं-कवि एवं सामाजिक अभियन्ता अनिता लामा शनिवार साहित्य सन्ध्या पुरस्कारबाट पुरस्कृत तथा सम्मानित हुनुभएको छ । प्रगतिशील साहित्य क्षेत्रको प्रतिष्ठित पुरस्कार मानिने पुरस्कारबाट लामा पुरस्कृत हुनुभएको हो ।

साहित्य सन्ध्या परिवारको ४१९औं विशेष श्रृङ्खला भर्चुअल कार्यक्रममार्फत उहाँलाई ०७७ सालको साहित्य सन्ध्या पुरस्कारले सम्मान गरेको परिवारका अध्यक्ष राम विनयले स्पष्ट पार्नुभयो । उहाँका अनुसार साहित्य सन्ध्या पुरस्कार तथा सम्मानमा नगद रु १५,००० नगद राशीका साथै सम्मानपत्र रहेको छ ।

कवि लामाले २०५८ सालमा अनुरागु कविता संग्रह,२०७१ मा अर्पणु कविता संग्रह र २०७४ मा आतुङु कविता संग्रह प्रकाशित गरिसक्नुभएको छ । उहाँका फूट्कर कविता,लेख रचना तथा कथाहरु पनि विभिन्न अनलाइन र अखबारहरुमा प्रकाशित हुँदै आएका छन्।

लामा प्रगतिशील साहित्य लेखनसँगै सामाजिक जागरणका कार्यमा निरन्तर सक्रिय हुनुहुन्छ । माक्र्सवादी दर्शनबाट अभिप्रेरित कवि लामा किशोरी अवस्था देखि नै संगठित राजनीतिक कार्यकर्ता पनि हुन्।

२०४६ सालको राजनैतिक परिवर्तनदेखि राजनैतिक आन्दोलनमा सक्रिय लामाको संगठन परिचालनमा पनि विशेष दख्खल र भूमिकासहितको उपस्थिति देखिन्छ।

पुरस्कृत भएपछि निकै भावुक देखिनुभएका कवि लामाले आफूले सधैँ भुँइ उठाउन काम गरेको र भुँइमै रमाइरहेकाहरुको बीचमा काम गर्न रुचि भएको बताउनुभयो । कहिल्यै पुरस्कारको खोजिमा काम नगरेको,नलेखेको बताउने लामाले साहित्य सन्ध्याजस्तो प्रतिष्ठित संस्थाले यसरी खोजेर आफ्नो झिँनो कामको सक्रियतालाई पनि सम्मान गरेकोमा साहित्य सन्ध्याप्रति आभार व्यक्त गर्नुभयो ।

२०३९ सालदेखि प्रगतिवादी साहित्य आन्दोलमा सक्रिय हुँदै आएको साहित्य सन्ध्या परिवारले २०४३ सालदेखि आफ्नो वार्षिकोत्सवको अवसरमा श्रष्टाहरुलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस !