• कृतिका घलान,

तेमाल–काभ्रेको तेमाल गाउँपालिका वडा नं.५ पोखरी नारायणस्थानमा जनैपुर्णि(गोन्हे–ङ्ह्या) मा लाग्ने जात्रामेला यो पटक पनि ओपचारिकतामा सिमित भएको छ । कोरोना महामारी फैलन सक्नेतर्फ सचेत हुदै पालिकाले भिडभाड गर्न रोक लगाएपछि आजको दिन परेको यो जात्रा औपचारिकतामा सिमित भएको हो ।

यहाँस्थित सत्य नारायण मन्दिरका साथै केहि वर्ष अघि निर्मित स्वयम्भू,नमोबुद्ध,बौद्धमा लाग्ने मेला कोरोना भाइरस कोभिड –१९ को संक्रमणलाई मध्यनजर गर्दै तेमाल गाउँपालिकाले रोक लगाएको पालिकाको जनाएको छ ।

आज यहाँ थोरै स्थानीयमाझ पुजारी तथा लामाले औपचारिक पुजा पाठ मात्रै गर्ने कार्यक्रम भईरहेको पालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो । गोन्हे ङ्ह्याको शुभकामना व्यक्त गर्दै उहाँले तामाङहरुले पितृको सम्झनामा मनाइने यो पर्व घरघरमै मनाउन आग्रह गर्नुभयो ।

पालिका अध्यक्ष तामाङले ५ दिन अगाडि नै सुचना जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण उत्सव, मेला,पर्व,जात्रा जस्ता भिडभाड हुने खालका कार्यहहरु नगराउने नेपाल सरकारको निर्णय अनुसार नारायणथानको जात्रा रोकिएको स्पष्ट पार्नुभएको थियो ।

प्रत्येक वर्ष जनैपूर्णिमाको समय धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रसिद्ध सत्य नारायण मन्दिर तथा यहाँको स्वयम्भू,नमोबुद्ध,बौद्धमा मेला भर्न तेमाल,रोशी,महाभारत,मण्डनदेउपुर,पाँचखालसम्मका हजारौं दर्शनार्थीहरुको उपस्थिति रहने गर्दछ । मेलाको आकर्षण बोन्बोझाँक्रीको नाच र दर्शन हो भने लोप हुदै गएको मौलिक फापरे दोहोरी गीत गायन पनि हो ।

हिन्दुधर्मावलम्वीका साथै अन्य समेत सत्य नारायण मन्दिरमा मनले चिताको पुग्ने विश्वासका साथ दर्शन गर्न आउँछन् । पछिल्लो समय यहाँ निर्मित स्वयम्भू,नमोबुद्ध,बौद्धमा भने तामाङ समुदायले आफ्नो पितृको सम्झनामा बत्ति बाल्ने,छो चढाउने जस्ता धार्मिक कार्य गर्दछन् । तर कोभिडका कारण यो पटक पनि मेलाको रौनक नेदेखिएको हो । गत वर्ष पनि कोभिडकै कारण मेला रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस !