• नमोबुद्ध संवाददाता,

नमोबुद्ध–काभ्रेको पर्यटकीय नगरी नमोबुद्ध नगरपालिकामा नयाँ दुईवटा प्रवेशद्वार निर्माण सम्पन्न भएको छ । वडा नं. १ फुलबारीमा नमोबुद्ध नगर प्रवेशद्वार र वडा नं. ११ मा ऐतिहासिक एवं धार्मिकस्थल नमोबुद्ध मन्दिर परिसर प्रवेश गर्ने स्थलमा प्रवेशद्वार बनेको हो ।

नमोबुद्ध नगर प्रवेशद्वार नमोबुद्ध नगरपालिका र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार कार्यक्रमको संयुक्त लगानीमा निर्माण गरिएको हो । उक्त प्रवेशद्वार निर्माणका लागि कुल २६ लाख २७ हजार ६ सय ६६ रुपैयाँ खर्च भएको छ । यस्तै नमोबुद्ध परिसर प्रवेशद्वार नमाबुद्ध नगरपालिका तथा राष्ट्रिय पुननिर्माण प्राधिकरणको २५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको हो । दुबै प्रवेशद्वारमा बौद्ध संस्कृति झल्कने आकृतिसमेत निर्माण गरिएको छ ।

दुबै प्रवेशद्वारको आइतबार एक समारोहकाबीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गर्नुभयो । नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्धको पहिचान तथा बौद्ध संस्कृति झल्कने गरी प्रवेशद्वार निर्माण गरिएको र यसले ऐतिहासिक क्षेत्र नमोबुद्धको पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन थप टेवा पुग्न बताउनुभयो । उहाँले नमोबुद्ध क्षेत्रमै पार्क निर्माणको प्रक्रिया यसै बर्षदेखि सुरु हुने पनि बताउनुभयो । ऐतिहासिक सम्पदाको संरक्षण तथा यसको प्रचार प्रसारका लागि नगरपालिका दत्तचित्त भएर लागेको तिमल्सिनाको भनाई थियो ।

कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरपालिकाको पहलमा निर्माण भएका पूर्वाधारको सबै पक्ष मिलेर संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले नमोबुद्ध क्षेत्र प्रवेश गर्ने सडकको स्थरोन्नति गर्नुका साथै काभ्रे भन्ज्याङमा प्रवेशद्वार निर्माणका लागि पहल गरिरहेको जानकारी दिनुभयो । नमोबुद्ध क्षेत्रमा पर्यटकहरुको बसाई लम्ब्याउन होमस्टे लगायतका कार्यक्रमहरु पनि अगाडि बढाउनुपर्नेमा तामाङले जोड दिनुभयो ।

नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नमोबुद्ध नजिकै कोसेली घर निर्माणको कार्य केही समयमै सुरु हुने बताउनुभयो । संस्कृति प्रवद्र्धन, नमोबुद्ध नगरभित्रका ऐतिहासिक क्षेत्रको संरक्षण र सम्वद्र्धन तथा पर्यटन प्रवद्र्धनमा नगरपालिकाले जोड दिइरहेको उहाँले बताउनुभयो । नमोबुद्ध क्षेत्रमा निर्माण गरिएका प्रवेशद्वारले पर्यटन आकर्षणमा थप टेवा पुग्ने उहाँको भनाई छ ।

एमालेका युवा नेता राकेश लामा,वडा नं. १ का वडा अध्यक्ष कर्मग्याल्बो लामा, वडा नं. ११ का वडा अध्यक्ष कृष्णवहादुर तामाङ, नमोबुद्ध नगर प्रवेशद्वार निर्माण उपभोक्ता समितिका अध्यक्ष कामीसिं तामाङ लगायतले नमोबुद्ध क्षेत्रको धार्मिक एवं ऐतिहासिक महत्वका बारेमा प्रकाश पार्दै प्रवेशद्वार निर्माणले पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !