३४ मध्ये १८ प्रान्त कब्जा

काठमाडौँ–अमेरिकी नेतृत्वको नेटो (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन) सेनाले अफगानिस्तान छाडेपछि विद्रोही तालिवानले सत्ताकब्जा गर्न सरकारी सुरक्षाकर्मीविरुद्ध आक्रमण तीव्र बनाएको छ । अफगानस्तानका ३४ मध्ये १८ प्रान्तका राजधानी पछिल्लो एक सातामा तालिवान समूहले कब्जा गरिसकेको छ । यो समूह राजधानी काबुल कब्जाका गर्नका लागि अघि बढिरहेको छ ।

पास्तो (पास्तुन जातिको) भाषामा तालिवान भनेको विद्यार्थी हो । धर्मरक्षक यो ‘विद्यार्थी’समूह हो । तालिवान उसका संस्कृतिअनुसार प्रशिक्षित छ ।

अमेरिकी सेना अफगानस्तान आउनुअघि सत्ता सञ्चालन गर्दा तालिवानले १० वर्षभन्दा बढी उमेरका किशोरीलाई औपचारिक शिक्षा लिन बन्देज लगाएको थियो । घरभित्र या बाहिर, महिलालाई बुर्का अनिवार्य थियो । यस्ता, नियम उल्लंघन गरेको खण्डमा त्यसबेला हदैसम्मको सजाय दिने गरिन्थ्यो ।

मुस्लिम पन्थी तालिवान समूहको विशेषता धर्मलाई केन्द्रमा राख्दै संस्कृतिअनुसार शासन चलाउनु हो । यो समूहलाई उग्रपरम्परावादी समूह हो भन्ने आरोप लाग्ने गरेको छ ।

सन् २००१ मा अमेरिकी फौज अफगानिस्तानमा छिर्नुअघि सत्ता सञ्चालन गरेको तालिवान समूह अहिले पुनःसिंगा मुलुकलाई कब्जा गर्ने रणनीति अनुरुप अघि बढिरहेको छ । पश्चिमा मुलुक समर्थित सरकारको विरुद्धमा तालिवान सन् २००१देखि नै अफगानस्तानमा विद्रोह गर्दै आइरहेको छ ।

तालिवानका संस्थापकक मुल्लाह मोहम्मद ओ‌मर हुन् । सन् २००१मा अमेरिकी सेना अफगानस्तानमा ओर्लिएसँगै तालिवानले सत्ता गुमाएको थियो । त्यहि बेलादेखि ओमर लुकेका थिए । ओमरको अवस्थाबारे मृत्यु भएको दुई वर्षपछि मात्रै उनका दुई छोराहरुले सार्वजनिक गरे । ओ‌मरको मृत्यु सन् २०१३मा भयो ।

यि हुन् तालिवानका नेताहरु

हेईबुतल्लाह अखुन्जादा:

हेईबुतल्लाह तालिवान समूहका सर्वोच्च नेता हुन् । उनलाई तालिवानको राजनीतिक,धार्मिक तथा सैन्य मामिलासँग सम्बन्धित सबै विषयहरुमा निर्णय लिने अधिकार छ । उनलाई समूहभित्र ‘विश्वासयोग्य नेता’को रपमा चित्रण गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अखुन्जादाले यो समूहको नेतृत्व सन् २०१६ देखि लिएका हुन् । यसअघिका प्रमुख अख्तर मन्सुर अफगान-पाकिस्तान बोर्डरमा सन् २०१६मा अमेरिकी ड्रोन हमलामा मारिएपछि अकुन्जादाले तालिवान समूहको नेतृत्व सम्हालेका हुन् ।

अखुन्जादाले यसअघि दक्षिणपश्चिम पाकिस्तानस्थित कुचलक सहरको एक मस्जिदमा पढाउने काम गर्ने गरेको अलजजिराले जनाएको छ । उनले त्यहाँ १५ वर्षसम्म पढाए । सन् २०१६को मेदेखि उनी त्यहाँबाट अचानक सम्पर्कविहीन बनेका थिए ।

अखुन्जादाको उमेर ६० को हाराहारी रहको बताइएको छ । उनको पछिल्लो अवस्थाबारे अज्ञात छ ।

मुल्लाह मोहम्मद याकुब:

तालिवानका संस्थापक मुल्लाह ओमरका छोरा हुन् याकुव । उनी तालिवान समूहका सम्पूर्ण सैन्य गतिविधि तथा आक्रमणको निरीक्षण तथा व्यवस्थापकीय कार्य हेर्छन् । उनी हाल अफगानस्तानमै रहेको बताइएको छ ।

नेतृत्व हस्तान्तरणको विषयमा टसल हुँदा उनलाई धेरै पटक सर्वोच्च नेताको रुपमा प्रस्ताव गरिएको थियो । तर उनले अखुन्जादालाई अघि सारेका थिए । उनले त्यसबेला आफू युवा अवस्था रहेको,सैन्य र युद्ध सम्बन्धीको अनुभव नभएको बताउँदै अखुन्जादालाई प्रस्ताव गरेका एक तालिवानी कमान्डरको भनाई उद्धृत गर्दै अलजजिराले लेखेको छ । याकुबको उमेर ३०को हाराहारीमा रहेको बताइएको छ ।

सिराजुद्दीन हक्कानी :

सिराजुद्दीन हक्कानी मुज्जाहद्दीन कमान्डर जालालुद्दिन हक्कानीका छोरा हुन् । सिराजुद्दीनले तालिवानको हक्कानी नेटवर्कको नेतृत्व छन् । यो समूह अफगान-पाकिस्तान सीमामा तालिवानको वित्तिय तथा सैन्य सम्पत्तिको निगरानी र व्यवस्थापन गर्छ ।

हक्कानी समूह अफगानस्तामा हुने विभिन्न ठूला आत्मघाती बम विस्फोटका घटनाहरुमा संलग्न हुने गरेको बताइएको छ । यो समूहले तत्कालीन राष्ट्रपति हमिद कर्जाईको हत्या प्रयास र भारतीय दूतावासमा आत्मघाती विस्फोट प्रयास गराएका थिए । हक्कानीको उमेर ४० देखि ५०को बीचमा रहेको बताइएको छ । उनको अवस्था पनि अज्ञात छ ।

मुल्लाह अब्दुल घानी बरादार:

बरादार तालिवानका संस्थापक नेतामध्येका एक हुन् । उनी तालिवानको राजनीतिक कार्यालयका प्रमुख हुन् । उनी यो समूहको वार्ता टोलीको एक हिस्सा हुन् जुन समूह दोहामा बसेर राजनीतिक सम्झौता गर्ने प्रयास गर्छ । यो समूहले गरेको वार्ता युद्धविरामको बाटो प्रशस्त गर्न पनि सक्ने बताइन्छ ।तर पछिल्लो समय यो वार्ता कार्य रोकिएको छ ।

बरादारा मुल्लाह ओमरका सबैभन्दा विश्वासिला व्यक्ति हुन् । उनी सन् २०१०मा पाकिस्तानको कराँची सहरबाट सुरक्षाकर्मीहरुले पक्राउ गरेका थिए । उनी सन् २०१८मा रिहा भएका थिए ।

सेर मोहम्मद अब्बास स्तानिकजाई :

उनी तालिवानका तत्कालीन सरकारका उपमन्त्री हुन् । उनले करिब एक दशक दोहामा बसेका छन् । उनी सन् २०१५ देखि दोहास्तित राजनीतिक कार्यालयको प्रमुख पनि हुन् ।

उनी अफगान सरकारसँग हुने वार्तामा सहभागी हुने गरेका छन् भने विभिन्न कूटनीतिक वार्तामा पनि सहभागी हुने गरेका छन् ।

अब्दुल हकिम हक्कानी :

उनी तालिवानी वार्ता समूहका प्रमुख हुन् । उनी तालिवानका पूर्व छाया प्रधानन्यायाधीश हुन् । उनी यो समूहको धार्मिक परिषद् समूहको प्रमुख हुन् । उनी अखुन्जादाका विश्वासिला व्यक्तिरको रुपमा चिनिन्छन् ।

कान्तिपुर,एजेन्सीहरुको सहयोगमा,तस्बिरहरुःअलजजिरा

 

प्रतिक्रिया दिनुहोस !