भारतले कोभिशिल्ड नदिएपछि भुटान र जापानले दिएको एस्ट्रेजेनका खोप

  • नमोबुद्ध संवाददाता,

तेमाल–कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका काभ्रे तेमालका जेष्ठ नागरिकलाई सोमबारदेखी एस्ट्रेजेनकाको खोप लगाउन थालिएको छ । भुटानले ३ लाख डोज र जापानले १६ लाख डोज खोप पठाएपछि साउन २५ गतेदेखि ६५ वर्ष माथिका बृद्ध बृद्धालाई कोभिड १९ विरुद्धको दोस्रो डोजमा एस्ट्रेजेनकाको खोप सुरु गर्ने सरकारी अभियान अन्तरगत तेमालका जेष्ठ नागरिकहरुले पनि यो सेवा पाएका हुन् ।

भारतमा निर्मित कोभिशिल्ड खोप लगाएका उनिहरुलाई एस्ट्रेजेनकाको खोप लगाउन मिल्ने भएकोले यो खोप दिन थालिएको पालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“आज ६ सय बढिले खोप सेवा लिनुभएको छ,छुटेकाहरुलाई भोलि(मंगलबार) पनि खोप दिने व्यवस्था गरेका छौं ।”

तेमालका ९ वटै वडाका स्वास्थ्य संस्थाहरुले काभिड–१९ विरुद्धको खोप सेवा थालिएको पालिका प्रवक्ता ज्ञानबहादुर लामाले स्पष्ट पार्नुभयो । छुटेकालाई मंगलबार दिईने भएकोले तेमालमा यो खोपबाट लाभान्वित हुनेको यकिन संख्या मंगलबार बेलुका मात्रै थाहा हुने उहाँले बताउनुभयो ।

पहिलो दिन १ नं. वडा सस्र्यूंखर्कमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा ५९ जना (३१ महिला र २८ पुरुष) ले खोप लिएको स्वास्थ्य इकाई प्रमुख लोकनाथ चिमौरियाले जानकारी दिनुभयो । गत फागुनमा १ सय जेष्ठ नागरिकले कोभिशिल्ड लगाएकोमा छुटेका अन्य नागरिक भोली आउने विश्वास उहाँको छ । २ नं. वडा चुखामा एकै दिन ९३ जनाले खोप लिएको वडाध्यक्ष तिमाल सिं तामाङले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार तेमालका ६ सय ३७ ले एस्ट्रेजेनकाको खोप लगाएका छन् ।
फागुन तेस्रो साता ६५ वर्षमाथिका जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो डोज १२ हप्तापछि लगाउनुपर्ने बताएपनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उनीहरु दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।

उनिहरुलाई एस्ट्रेजेनकाको खोप लगाउन थालिएको हो । तेमालसहित देशभरका ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले अहिले यो खोप पाउनेछन् ।

काभ्रे जिल्लामा कतिले लगाए यो खाप ?

 

प्रतिक्रिया दिनुहोस !