• नमोबुद्ध संवाददाता,

भकुण्डेबेशी–काभ्रेको नमोबुद्ध नगरपालिकाले बैंकसम्म जान नसक्ने(अशक्त)हरुको सामाजिक सुरक्षा भत्ता नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आफैं घरघरमा पुगेर बाँड्न थाल्नुभएको छ । नगरपालिकाले अहिले अभियानकै क्रममा घरघरमै पुगेर भत्ता वितरण गरिरहेको नगर प्रमुख तिमाल्सिनाले जानकारी दिनुभयो । नगरका जेष्ठ नागरिक र असक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरुको अवस्थाबारे बुझ्ने र घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको नगर प्रमुख तिमल्सिनाले स्पष्ट पार्नुभयो ।

अभियानको क्रममा उहाँले जेष्ठ तथा असक्त नागरिकको समस्या बुझ्दै उनीहरुका लागि नगरपालिकाले गर्न सक्ने सहयोगका विषयमा चासो समेत व्यक्त गर्ने गर्नुभएको छ । उहाँले जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायतका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । उहाँले बिरामी भएर घरमै बसेकाहरुका लागि औषधीसमेत वितरण गर्नुभएको छ ।

नगरप्रमुख तिमल्सिनाले जेष्ठ नागरिकका लागि नगरपालिकाले यस बर्ष विशेष कार्यक्रमहरु अघि सारेको पनि बताउनुभयो । ‘यो बर्ष कान सुन्न नसक्ने एक सय जनाका लागि आवश्यक मेसिन र एक सय जना व्यक्तिका लागि दाँत राख्ने कार्यक्रम अघि सारेको छु’ नगर प्रमुख तिमल्सिनाले भन्नुभयो, ‘मोतियाविन्दुको समस्या भएका वृद्ध बाआमाका लागि यसअघि नै निःशुल्क शल्यक्रियाको व्यवस्था नगरपालिकाले मिलाएको छ ।’

नमोबुद्ध नगरपालिकाले अहिले गत आर्थिक बर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरुका लागि घरघरमै मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गरिरहेको हो । सम्वन्धीत बैंकका कर्मचारीसहित अशक्त व्यक्तिको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिँदैछ । यो अभियानअन्तर्गत हालसम्म बैंकसम्म जान नसक्ने वृद्धवृद्धा, अशक्त र दीर्घरोगी गरी ४६ जनाको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालले जानकारी दिनुभयो ।

नमोबुद्ध नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा ३ हजार २ सय ९१ जना रहेका छन् । त्यसमध्ये मासिक ३ हजार रुपैयाँ भत्ता पाउने ७० बर्षमाथिका जेष्ठ नागरिक १ हजार ९ सय २ जना रहेका छन् भने २ हजार रुपैयाँ मासिक सामाजिक सुरक्षा भत्ता पाउने ६० बर्षमाथिका दलित जेष्ठ नागरिकको संख्या १ सय २१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस !