प्रधानमन्त्री देउवाले शाक्यको राजीनामा नमागेको स्रोतको खुलासा
- नमोबुद्ध संवाददाता,
काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दबावमा कुलमान घिसिङलाई फेरि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी भएको छ ।
कुलमानको व्यवस्थापकिय क्षमतालाई आफ्नो पार्टीको राजनीतिक साखसँग जोडेर हेर्ने गरेको प्रचण्डले ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालमार्फत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन दबाव दिइसक्नुभएको छ । मंगलबार मात्रै ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई राजीनामा दिई सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा माग्नुभएको हो ।
राजीनामाको दबाव पाएका कार्यकारी निर्देशक शाक्यले भने केही प्रतिक्रिया जनाउनुभएको छैन । तर प्रधानमन्त्री देउवाले भने शाक्यको राजीनामा नमागेको स्रोतले जनाएको छ । यस कारण २०७७ माघ २७ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका शाक्य तत्काल राजीनामा दिने मनस्थितिमा हुनुहुन्न ।
प्रधानमन्त्रीको निजी सचिवालयले भने शाक्य हटेपछि कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिइसकेको बताएको छ ।
कुलमान घिसिङलाई प्राधिकरणमा फर्काउन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउबासँग छलफल गर्नुभएको थियो । खास यसमा प्रचण्डको जोडबल बढि देखिएको स्रोतले बताएको छ ।
कुलमान घिसिङको चर्चा कुनै सेलिव्रेटिको भन्दा कम रहेन,६ महिना अघि नेकपा सरकारताका आफ्नो कार्यकाल सकाएका घिसिङलाई पुन सोही जिम्मेवारी दिलाउन असफल भएका प्रचण्डले अहिले काँग्रेस नेतृत्वको आफ्नो गठबन्धन सरकारमा पुनः यो विषयलाई प्राथमिकताका साथ उठाउनुभएको हो ।
प्राधिकरणमा फेरि कुलमानलाई ल्याउने,यसले पार्टीको साख जोगाउन मद्धत गर्ने,सम्भव भए आउने चुनावमा कुलमानलाई नै चुनावी मैदानमा उठाउने चर्चा माओवादी वृत्तमा चल्दै आएको छ ।