• नमोबुद्ध संवाददाता,

काठमाडौं-जनसांस्कृतिक महासंघको केन्द्रीय सचिवालय बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

भौतिक उपस्थिति र जुमका माध्यमबाट महासंघका अध्यक्ष एवम् सचिवालय संयोजक खगेन्द्र राईको अध्यक्षतामा हालै बसेको बैठकले भदौ २५ गतेभित्र सबै प्रदेशमा प्रादेशिक कमिटी निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकले साउन ३० गते उपत्यका, ३१ गते बागमती प्रदेश र भदौ १९ गते गण्डकी प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।

महासंघका महासचिव प्रेमनाथ अधिकारीका अनुसार शनिबारको बैठकले पार्टीको संगठित सदस्यता नवीकरण कार्यलाई अगाडि बढाउने तथा नयाँ सदस्यताका लागि आवेदन लिने निर्णय समेत भएको छ । यसका लागि सम्बधिन्त कमिटीहरूलाई परिपत्र गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

बैठकले महासंघबाट प्रकाशित हुँदैआएको ‘संस्कृति’ पत्रिकाका लागि प्रा.डा. जीवेन्द्रदेव गिरीको संयोजकत्वमा प्रा. केशव सुवेदी र आरसी रिजाल सदस्य रहेको सम्पादन समिति र सचिवालय सदस्य अशोक राईको संयोजकत्वमा प्रचार समिति गठन गरेको छ ।

बैठकमा सातओटै प्रदेश संयोजकहरूले प्रादेशिक प्रतिवेदन पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !