
- नमोबुद्ध संवाददाता,
बनेपा–बागमती प्रदेशका सांसद चन्द्र लामाले विकासको नेतृत्वकर्ता नेकपा एमाले नै भएको बताउनुभएको छ । काभ्रे क्षेत्र नं. १(२) बाट निर्वाचित सांसद लामाले ‘समृद्ध नेपाल सुखी नेपाली’ को आकांक्षालाई पूरा गर्न संघमा कपी ओली नेतृत्वको सरकार र प्रदेशमा डोरमणी पौडेल नेतृत्वको एमाले सरकारले त्यसको जग बसालिसकेको बताउनुभयो ।
प्रेस चौतारी नेपाल काभ्रे शाखाद्धारा शुक्रबार यहाँ आयोजित सदस्यता वितरण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतामाझ यो विषय थप उजागर गर्न प्रेस जगतको महत्वपूर्ण भुमिका हुने उल्लेख गर्नुभयो ।
सांसद लामाले भन्नुभयो–“आज देशको राजनीतिक परिस्थीति अलि फरक भएको छ तर मुलुकको समृद्धिका लागि हामीले गरेको प्रण,हाम्रा सपना बदलिएका छैनन्,हामी त्यसमा प्रतिवद्ध छौं ।”
काभ्रेमा सम्पन्न भएका,आरम्भ भएका विद्यालय निर्माण,खानेपानी,सिञ्चाई,सडक लगायतका काममा एमालको अगुवाई रहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले आफ्नो निर्वाचन क्षेत्रमा सडक,खानेपानी,शिक्षा लगायतमा बजेटको कमी हुन नदिएको जानकारी दिनुभयो ।
डाँडापारीका जनताले पनि अब दुर्गम बस्तीको पिडाबोध गर्न नपर्नेगरी स्थानीय पूर्वाधार विकासका काम गर्नुपर्नेमा जोड दिदै सांसद लामाले भन्नुभयो–“जनताले हामीप्रति जे अपेक्षा गरेका छनु,त्यसमा इमान्दारिताका साथ लाग्नुपर्छ,त्यसमा हामी दत्तचित्त भएर लागेको पनि म अवगत गराउँदछु ।”
जनताको एक एक मतको सम्मान मिल्नेगरी वचन अनुसार आफ्ना प्रतिवद्धता पूरा गर्न लागि परेको उहाँको भनाई थियो ।