
- नमोबुद्ध संवाददाता,
बनेपा–नेकपा एमाले काभ्रेका इञ्चार्ज एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले काभ्रेमा नेकपा एमालेको जिल्ला कमिटि अध्यक्ष अशोक व्यञ्जु नै भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल काभ्रे शाखाद्वारा शुक्रबार यहाँ आयोजित सदस्यता वितरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले काभ्रेमा कुनै सानो झुण्डको नेतृत्व गर्ने व्यक्ति पार्टीको अध्यक्ष बन्न नसक्ने बताउनुभयो ।
“६० जनालाई बाहिरै राखेर अस्तीतिर जिल्लामा बैठक बसेको भन्ने सुनियो,३ जना जिल्ला कमिटि सदस्यलाई मात्र सामेल गराएर बैठक हुन्छ ?”,उहाँले भन्नुभयो–“त्यस्ता गुट मान्य छैन,त्यो परास्त गरिन्छ ।”
जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष टोक बहादुर वाईबा आफ्नै गाउँको भएपनि गुटलाई प्रश्रय दिने प्रवृत्तिले पार्टी नचल्ने जिकिर गर्दै बाँस्कोटाले एमाले काभ्रेमा व्यञ्जुलाई नै नेतृत्व मान्न सकिने स्पष्ट पार्नुभयो ।
एमाले केन्द्रिय सदस्य समेत रहेका बाँस्कोटाले केन्द्रमा एमालेभित्र अन्तरिक द्धन्द बढ्दै जाँदा देशभर सामानान्तर कमिटिको अभ्यास गर्दै जानेक्रममा काभ्रेमा अध्यक्ष केपी ओली पक्षबाट समानान्तर जिल्ला कमिटि अध्यक्ष बनेका व्यञ्जुलाई नै अघि सार्ने अडान व्यक्त गर्नुभएको हो ।
नेकपा एमाले विशाल पार्टी रहेको उल्लेख गर्दै उहाँले गलत प्रवृत्तिका,काम नलाग्ने व्यक्तिहरु पाखा लागेर केहि फरक नपर्ने बताउनुभयो ।
माधवकुमार नेपाल पक्षधर जिल्ला अध्यक्ष वाईबालाई जिल्लामा गुटगत शैली देखाउँदै एमाले पार्टीलाई जिल्लामा अनिर्णयको बन्दी बनाएको,आफ्नै सरकारलाई असहयोग गरेको लगायतका आरोप छ ।