• नमोबुद्ध संवाददाता,

चौंरीदेउराली-काभ्रेको चौंरीदेउराली गाउँपालिकाले आफ्नो क्षेत्रमा अक्सिजन सहितको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले तीन स्थानमा १८ बेडको आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेसँगै वडा नं. ५ मा रहेको धुसिने शिवालय प्राथमिक अस्पतालमा १० बेडको आइसोलेसन कक्ष तयार गरी सञ्चालनमा ल्याएको हो ।

‘गाउँ कार्यपालिका र स्वास्थ्य संस्थाका प्रमुखहरुको बैठकले निर्णय गरे बमोजिम हामीले अक्सिजन सिलिण्डर समेत खरिद गरि ल्याएका हौं।’ पालिका अध्यक्ष दिननाथ गौतमले भन्नुभयो, ‘२० सिलिण्डर तयारी अवस्थामा राख्ने योजना अनुसार १० वटा ठूलो सिलिण्डर ल्याइसकेका छौं बाँकी पनि चाँडै आइपुग्छ ।’

गाउँपालिकाले तोकिएको २ वटा स्वास्थ्य संस्थामा भने आइसोलेसन कक्ष निर्माणको तयारी तीब्र गतिमा भइरहेको स्वास्थ्य शाखा प्रमुख तेज घिसिङले जानकारी दिनुभयो । ‘आईतबारसम्ममा वडा नं. २ मा रहेको डिसिडब्लुसि सामुदायिक अस्पताल र वडा नं. ३ मा रहेको धुलिखेल अस्पतालबाट सञ्चालित सलम्बु स्वास्थ्य  केन्द्रमा आइसोलेसन कक्ष तयारी हुनेछ ।’

गाउँपालिका अध्यक्ष गौतमका अनुसार शनिबारदेखि सञ्चालन थालिएको आइसोलेसन कक्षमा एकजना संक्रमित भर्ना भएका छन् ।

पालिकाद्वारा निशेधाज्ञा जारी,अटेर गरे कारवाही

संक्रमित बढ्दै गएपछि गाउँपालिकाले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा नै जारी गरेको छ ।

गाउँपालिकालेले पनि अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको अध्यक्ष गौतमद्वारा हस्ताक्षरित सूचनाले स्पष्ट पारेको छ । जारी ।

शनिवार बसेको कार्यपालिका, सुरक्षा निकाय र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको संयुक्त बैठकले विश्वव्यापी रूपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ को कारण यस गाउँपालिका क्षेत्रभित्रका सबै वडाहरूमा पनि कोरोना सङ्क्रमितहरू भेटिएकोले सोबाट उत्पन्न उच्च जोखिम र विषम परिस्थितिलाई मध्य नजर गरी कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरेको जनाइएको छ ।

सूचनाको बर्खिलाप गएको पाइएमा नियमानुसार कडा कारबाही गरिने भन्दै यसतर्फ सचेत रहन यहाँको स्थानीय सरकारले भनेको छ ।

निशेधाज्ञामा के गर्ने मिल्ने,के गर्न नमिल्ने,जारी सूचनासहित हेर्नुहोस् : 

प्रतिक्रिया दिनुहोस !