- नमोबुद्ध संवाददाता,
बनेपा-विश्व प्रेस स्वतन्त्रता दिवस सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । गत वर्षहरुमाझैं यो पटक कोरोना महामारीका कारण भौतिक उपस्थितिमा औपचारिक कार्यक्रमहरु भने खासै भएनन् ।
कतिपय जिल्लाहरुमा अनलाईन जुम मार्फत नेपालको सञ्चार क्षेत्र,पेशागत स्वतन्त्रताका विषयमा छलफल भएका छन् भने कतै स्वास्थ्य सामाग्री हस्तान्तरण लगायतका रचनात्मक कार्यक्रम भए ।
यसैबीच नेपाल पत्रकार महासंघ काभ्रे शाखाले दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
महासंघले जिल्लाका क्रियाशील पत्रकारहरुलाई स्यानिटाईजर, फेस सिल्ड, ग्लोब्स लगायतका सामाग्री बितरण गरेको जिल्ला अध्यक्ष बद्रिराज तिमल्सिनाले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष तिमल्सिनाले संसारभर मनाईने प्रेस स्वतन्त्रता दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम गर्न नमिलेपनि कोभिडको महामारीका बेला विभिन्न संघ संस्थाको सहकार्यमा पत्रकार साथीहरुलाई सुरक्षित तरिकाले फिल्डमा आवत जावत तथा समाचार संकलन कार्यमा लाग्न हौसल्ला स्वरुप स्वास्थ्य सामाग्री बितरण गरिएको स्पष्ट पार्नुभयो ।