- नमोबुद्ध संवाददाता,
काठमाण्डाै-कोरोना भाइरस कोभिड-१९ संक्रमणले व्यापकता लिन थालेका कारण यो पटक हुन लागेको १३ औं राष्ट्रिय जनगणनाको कार्यक्रम प्रभावित भएको छ ।
आउँदो जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालै बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको काम केहि दिनका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
यो पटकको जनगणनाका लागि देशभर ४३ हजार गणक खटाईदैछ । जनगणना कार्यक्रम अन्तर्गत अहिले सुपरीवेक्षकको सूचिकरणका साथै आवश्यक तालिम चलिरहेको छ ।
नेपालमा हरेक १०/१० वर्षमा जनगणना हुँदै आएको छ । तत्काल स्थगित भएको जनगणना कार्यक्रमको कोरोना महामारी कम भएपछि पुनः मिति तय गर्ने सरकारको तयारी छ ।