• नमोबुद्ध संवाददाता,

भकुण्डेबेशी–काभ्रेको नमोबुद्ध नगरपालिकाले कोभिड १९ को महामारी रोकथाम तथा न्युनिकरणलक्षित आइसोलेसन स्थापना गरेको छ । भकुण्डे बजार नजिकै वडा नं. ४ मा रहेको जनक बहुमुखी क्याम्पसमा २५ शैयाको आइसोलेसन स्थापना गरिएको हो ।

आइसोलेसन कक्षका सबै शैयामा अक्सिजनको सुविधासमेत व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिनुभयो । आइसोलेसनमा बस्ने कोभिड १९ का बिरामीका लागि मेथिनकोट अस्पताल र नगरपालिकाको स्वास्थ्य शाखाबाट २४ सै घण्टा चिकित्सकसहितका स्वास्थ्यकर्मीले रेखदेख गर्ने व्यवस्था गरिएको छ ।

नगरपालिकाले बिरामीको सेवाका लागि २४ सै घण्टा एम्बुलेन्स सेवाको पनि व्यवस्था गरेको छ । हाललाई २५ शैयाको व्यवस्था गरिएको र आवश्यकता अनुसार थप शैयाको व्यवस्थापन गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

यसअघि गत बर्ष पनि नमोबुद्ध नगरपालिकाले जनक बहुमुखी क्याम्पस हातामै आइसोलेसन एवं क्वारेन्टाइन सञ्चालन गरेको थियो । यस बर्ष डिसिसिएमसीले कोभिड १९ का बिरामीको उपचारका लागि धुलिखेल र शिर मेमोरियल अस्पतालसँगै मेथिनकोट अस्पताललाई पनि चयन गरिसकेको छ ।

अहिलेसम्म नमोबुद्ध नगरपालिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ रहेको छ । त्यसमध्ये जिल्लाभित्र होम आइसोलेसनमा १२ जना रहेका छन् भने जिल्लाबाहिर ६ जना रहेका छन् ।

कोभिड १९ को महामारी र त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेले लागु गरेको निषेधाज्ञालाई मध्यनजर गर्दै नमोबुद्ध नगरपालिकाले आजदेखि एक साताका लागि अत्यावश्यकबाहेक सबै सेवासमेत बन्द गरेको छ । नगरपालिका, वडा कार्यालय र नगरपालिकाअन्तर्गतका कार्यालयमा सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !