- नमोबुद्ध संवाददाता,
काठमाडौं–नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट यस वर्ष सम्मानित हुने ६ जना श्रष्टा सर्जकहरुको नामावली घोषणा गरिएको छ ।
संगीत विधाबाट संगीतकर्मी माणीकरत्न स्थापित,नाटक विधाबाट धन बहादुर मल्ल,नृत्य विधाबाट बेटी बज्राचार्य,लोक संगीत विधाबाट ज्ञानु राणा,परम्परागत संगीत विधाबाट वंशीधर मण्डल (वंशी बाबा) तथा रङ्गमञ्च विधाबाट सुनिल मिश्रलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७७ बाट सम्मान गरिने भएको प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्य सचिव अशोक कुमार राईले जानकारी दिनुभयो ।
प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठले पुरस्कार तथा सम्मानले श्रष्टाहरुको हौसला बुलन्द गर्ने भएकाले यस वर्षपनि विभिन्न विधाका ६ जना स्रष्टाहरुलाई प्रज्ञा प्रतिष्ठानले सम्मानित गर्न लागेको जानकारी गराउनु भयो ।
२०६७ बैसाख १० गते स्थापना भएको प्रतिष्ठानले आफनो ११ औँ वार्षिकोत्सव मनाउँदै सोही समरोहमा पुरस्कृत श्रष्टाहरुको नाम औपचारिक रुपमा सार्वजनिक गरेको हो ।
समारोहमा नेपाल ललितकलाका कुलपति कान्छा कुमार कर्माचार्यले तीन प्रतिष्ठान विधागत हिसाबले अलग्गै भए पनि उद्देश्य नेपाली समग्र कला संस्कृतिको संरक्षण संवद्र्धन र प्रवद्र्धन गर्नु रहेको उल्लेख गर्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा.गगांप्रसाद उप्रेतीले प्रतिष्ठानले संगीत नाटकका क्षेत्रमा अतुलनीय योगदान पुर्याएका श्रष्टा तथा सर्जकहरुलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि पुरस्कार तथा सम्मानले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयोे ।