१३ वटा स्थानीय तहहरुमा कार्यशाला गोष्ठी
- नमोबुद्ध संवाददाता,
काभ्रे–भुमि सम्बन्धि समस्या समाधान आयोग काभ्रेले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य थाल्ने भएको छ । आयोगले यहाँका १३ वटा स्थानीय तहहरुमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गर्न प्रत्येक स्थानिय तहमा एकदिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।
यसैक्रममा बिहिवार पनौती नगरपालिकामा भुमि सम्बन्धि समस्या समाधान आयोग काभ्रेका विज्ञ सदस्य जेन (जेनिस) लामा,अर्का विज्ञ सदस्य अम्बिका हमाल,शाखा अधिकृत परशुराम थापा लगायतको उपस्थितिमा कार्यशाला गोष्ठी भयो ।
जनप्रतिनिधिहरु,वडा सचिव तथा सम्बधित कर्मचारीहरूलाई भुमिहीन दलित,भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य गर्न आवश्यक सूचनाहरू , कस्ता खाले समस्यालाई कुन फारम भर्ने र पीडितलाई बुझाउने सम्बन्धि जानकारी भूमि सम्बन्धी समस्या समाधान आयोग काभ्रेका विज्ञ सदस्य लामाले गराउनु भएको थियोे ।
उहाँले भुमि सम्बन्धि समस्या भएका नागरिकहरुलाई आआफ्नो वडाहरुमा फारम भर्न आग्रह गर्नुभयो । उहाँले यसबारे लगत संकलन गर्न गाउँपालिका र नगरपालिकासँग समन्वय गरी १५ दिने सूचना प्रकाशित गरेपछि ३५ दिन भित्रै त्यो फारम भर्न पीडितहरुलाई आग्रह गर्नुभएको हो । स्थानिय तहको सिफारिसमा सुकुम्बासीहरुले निशुल्क रुपमा जग्गाको लालपुर्जा प्राप्त गर्ने तर अव्यवस्थित बसोबासीको हकमा सरकारको मुल्यांकन अनुसारको पैसा तिरेर मात्रै जग्गाको लालपुर्जा पाउने विज्ञ सदस्य लामाले बताउनुभयो ।
यस्तै शाखा अधिकृत परशुराम थापाले पिडितहरुले आआफ्नो वडाबाटै सबै विवरण भरेर पठाउन सम्बन्धित सबैले सहयोग गर्न आग्रह गर्नुभयो । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका लागि लगत संकलन कार्य गर्ने म्याद पनि कम भएकोले यो पटकको समस्या समाधाननै पहिलो र अन्तिम हुने पनि बताउनुभयो । फारम वडा कार्यालयमा वडा स्तरीय सहजिकरण समितिबाट रुजु गराई भूमि समस्या समाधान ईकाइमा पठाउने र इकाईले पनि रुजु गरिसकेपछि कम्प्यूटरमा लगत प्रविष्ट गर्ने काम सुचारु हुने जानकारी दिनुभयो ।