- शिशिर दोङ
तेमाल–काभ्रेको तेमाल गाउँपालिका वडा नं.२ स्थित सर्वोद्वार माविको १७ औं अभिभावक सम्मेलन सोमबार सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष पदम लामाको अध्यक्षता र बाग्मती प्रदेशका सदस्य रत्न ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सांसद ढकालले शैक्षिक लगायतका क्षेत्रको विकासमा स्थानीय सरकार र प्रदेश सरकारबीचको सम्बन्ध सुमधुर रहनुपर्नेमा जोड दिनुभयो ।
आवश्यक समन्वय नभएकै कारण धेरैजसो बजेट फ्रिज हुनेगरेको उहाँको भनाई थियो । यद्यपी उहाँले तेमाल सरकारले बनाएको शिक्षा नीतिको प्रशंसा गर्नुभयो । यसमा अझै केही बुँदा भने थप्नुपर्ने उहाँको सुझाव थियो ।
कार्यक्रमका विशेष अतिथि पालिका उपाध्यक्ष दुर्गामाया तामाङले विद्यालय संचालन गर्न संकट देखिएमा आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा विद्यालयको नियमित सहयोगि दाता उर्मिला फाउन्डेसनका अध्यक्ष पासाङ डोल्मो तामाङले नगद एक लाख बीस हजार रुपैया विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमका विशेष अतिथि समेत रहेका तामाङले विद्यालय बाल मैत्री सँगै महिला मैत्री पनि हुन आवश्यक रहेको औंल्याउनुभयो । उहाँले भौतिक संरचना मात्रै राम्रो नभइ शैक्षिक गुणस्तरलाई अब्बल बनाउनु महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । पालिका सरकारले स्थानीय पाठ्यक्रमलाई बेवास्ता गरेको भन्दै उहाँले स्थानीय क्षेत्रमा भएका विभिन्न संस्कृती,भाषा,सम्पदा ओझेलमा पर्न सक्नेतर्फ स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अर्को सहयोगि संस्था लहयुल ईन्टर प्रइजेका प्रमुख शंकर मान तामाङले बिद्यार्थीहरुलाई टिसर्ट वितरण गर्नु भएको थियो । तेमाल गापाका शिक्षा शाखा प्रमुख केदार ढकालले बिद्यालय ब्यवस्थापन समिति गठन प्रक्रियाको सम्बन्धमा पालिकाले बनएको शिक्षा नियामवली बारे प्रकाश पार्नुभएको थियो ।
शिक्षक आसमान लामाले सम्पुर्ण उपस्थित सबैलाई स्वागत गर्दै हालसम्म कुनै अभिभावकले आ–आफ्नो बच्चाहरुको पढाइको बारेमा विद्यालयमा सोधपुछ गर्न नआएकोतर्फ अभिभावकहरुको ध्यानाकर्षण गराउनुभयो ।
विद्यालयका प्रधानाध्यापक ज्ञान्जा लामाले विद्यालयको बिगतदेखि बर्तमानसम्मको अवस्था बारेमा जानकारी गराउनुभएको थियो । विद्यालयका लेखापाल जमक बहादुर श्रेष्ठले आयब्यय तथा लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै पूर्व प्रअ धनवीर लामा र वीरनन्द लामाले पनि आ–आफ्नो बिगतको अनुभव राख्नु भएको थियो । विद्यालयलाई सहयोग गर्ने चन्दादाता, विद्यालय ब्यवस्थापन समितिका पूर्व पदाधिकारी, पूर्व शिक्षक,प्रअ लगायतलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षिकाहरुको सचेतनामूलक गीत र विद्यार्थीहरुको समूहको मनोरञ्जनात्मक सांस्कृतिक प्रश्तुतीहरु समावेश गरिएको थियो ।