खेल समृद्धिको महत्वपूर्ण पाटो बन्न सक्छ : सांसद ढकाल
- नमोबुद्ध संवाददाता,
चौंरीदेउराली–काभ्रेको चौंरीदेउराली ३ माझिफेदामा आइतबार सम्पन्न चौंरीदेउराली अध्यक्ष गोल्ड कप फुटबलको उपाधि वडा नं. २ नाग्रेगगर्चेले जितेको छ । यो पटक दोस्रो अध्यक्ष कप फुटबलको फाइनल भिडन्तमा वडा नं. ७ माडनकुडारीको टिमलाई उसले २ गोलले पराजित गरेको हो ।
नग्रेगगर्चेको टोलीले दुवै गोल हाल्फ समय अगाडीनै गरेको थियो । जवाफमा कुनै गोल फर्काउन नसकेपनि मादनकुडारी उपविजेता बन्न सफल भएको छ । वडा नं.६ कात्तिके देउराली भने तेस्रो भएको छ ।
विजेता समुहले नगद १ लाखसहित ट्रफि,सिल्ड,मेडल र प्रमाणपत्र पाएका छन् भने उपविजेताले नगद ५० हजारसहित ट्रफि,सिल्ड,मेडल र प्रमाणपत्र हात पारेका छन् । तेस्रो हुने टिमले नगद २५ हजारसहित ट्रफि,सिल्ड,मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगिताको प्रथम हुने टिम र खेलाडीहरुलाई प्रदेश सांसद रत्न ढकाल,दोस्रो हुने टिम र खेलाडीलाई गाउँपालिका अध्यक्ष दिननाथ गौतम र तेस्रो हुने टिम र खेलाडीहरुलाई पालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईले नगद पुरस्कारसहित ट्रफि,सिल्ड,मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।
समापन समारोहमा प्रतियोगिताको उत्कृष्ठ खेलाडी,मिडफिल्डर,गोलरक्षक,सर्वाधिक गोलकर्ता,कोच,रेफ्रि लगायतलाई पनि सम्मान गरिएको थियो । प्रतियोगितामा पालिकाका सबै ९ वटै वडाका खेलाडी टिम प्रतिस्पर्धामा उत्रेका थिए ।
शुक्रबार सुरु भएको प्रतियोगिता आइतबार समापन गरिएको प्रतियोगिता संयोजक वडा नं. ३ का वडाध्यक्ष विनोद घिसिङले जानकारी दिनुभयो । युवा जमातमा अनुशासन,भातृत्व र एकताका लागि प्रतियोगिता महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
खेल समृद्धिको महत्वपूर्ण पाटो बन्न सक्छ : सांसद ढकाल
प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि प्रदेश सांसद रत्न ढकालले खेललाई समृद्धिको महत्वपूर्ण पाटो बनाउन सकिने बताउनुभयो । उहाँले भन्नुसभयो–“संसारमा थुप्रै देशहरु खेलकुदलाई आर्थिक समृद्धिको महत्वपूर्ण स्रोत बनाउन सफल भएका छन्,खेलसँग युवा विकास,अनुशानसँगै पर्यटन पनि जोडिन आउँछ,हाम्रो नेपालले पनि त्यसतर्फ ध्यान दिने बेला भएको छ ।”
सांसद ढकालले चौंरीदेउरालीमा खेलकुदको विकासका लागि पालिकासँगै प्रदेश सरकारले पनि हातेमालो गर्दै आएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा काफ्ले फुटबल मैदानको स्तरउन्नतीका लागि आफूले १० लाख बजेट विनियोजन गरेको सांसद ढकालले स्पष्ट पार्नुभयो ।
तिनै मैदानमा दोस्रो अध्यक्ष कप फुटबल सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै उहाँले चौंरीदेउरालीमा सडक,अस्पताल,खानेपानी लगायत क्षेत्रको विकासमा बढि लागि परेको जानकारी दिनुभयो ।
सांसद ढकालले भन्नुभयो–“हामी निर्वाचित भएको तीन वर्ष यता यहाँको अवस्था हेर्दा यहाँ थुप्रै परिवर्तन भएको देख्न सकिन्छ, अब २ वर्षमा हाम्रा थुप्रै योजनाहरुले साकार रुप पाउनेछन् ।”
खेलाडी पहिचानको संवाहक हुन् : अध्यक्ष गौतम
प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै विशेष अतिथि पालिका अध्यक्ष दिननाथ गौतमले खेलाडी पहिचानको संवाहक भएको बताउनुभयो । खेलले विकास,गतिशिलता र अनुशासनको विकास गराउने धारणा व्यक्त गर्दै उहाँले यिनै चिजको सिकाईसँगै कुनै पनि ठाउँको चिनारी अन्यत्र फिजाउँने काम खेलमार्फत खेलाडीहरुले गर्ने बताउनुभएको हो ।
खेलमा हारजीत स्वभाविक भएको भन्दै उहाँले विजेता खेलाडीहरुलाई नमात्तिकन अझै अघि बढ्न र हार बेहोरेका खेलाडीहरुलाई थप मजवुत भई अघि बढ्ने प्रण गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“क्षमता विकास तथा प्रगतीको सिमाना हुदैन,झनै बढाउँदै लैजाने हो,कमजोरी बेहोर्नेहरुले सच्याउदै अघि बढ्ने हो ।”
पालिका अध्यक्ष गौतमले युवा र खेलकुदप्रति पालिकाको सकारात्मक दृष्टिकोण रहेको उल्लेख गर्नुभयो । त्यसैको परिणाम अध्यक्ष दोस्रो अध्यक्ष कप रहेको उहाँको भनाई छ । आगामी समयमा पनि खेलकुदको विकासका लागि नीति र बजेटले सम्बोधन गर्ने पालिका अध्यक्ष गौतमको प्रतिवद्धता छ ।