• नमोबुद्ध संवाददाता,

भकुण्डे–नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघ नमोबुद्ध नगर समितिको नगरस्तीय बैठक एवं प्रशिक्षण बुधबार सम्पन्न भएको छ । कार्यक्रम नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता एवं संघका केन्द्रीय अध्यक्ष पूर्ण पाण्डे र नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले नमोबुद्ध नगरपालिकामा खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन, नीति तथा कार्यक्रम तय गरि अघि बढेको बताउनुभयो । उहाँले संघलाई वडास्तरसम्म विस्तार गर्न, खेलकुद गतिविधिलाई अझै व्यवस्थित र प्रभावकारी बनाउन प्राथमिकताका साथ अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष पूर्ण पाण्डेले स्थानीय तहसम्म संघ विस्तारको अभियानमा लागेको र केम्पो खुकुरी मार्शल आर्टसको माध्यमबाट मुलुकको पहिचान अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन आफूहरु लागिपरेको बताउनुभयो । नगरपालिकाका सबै स्कुल र कलेजमा डोजो सञ्चालन गर्ने जानकारी दिँदै उहाँले त्यसअगाडि कम्तीमा सय जनालाई प्रशिक्षण दिइने जनाउनुभयो । संघका लागि काभ्रेको नालामा १२ रोपनी जग्गा सरकारबाट प्राप्त गरेको र त्यहाँ केन्द्रीयस्तरको प्रशिक्षण केन्द्र बनाउने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले खेलले व्यक्तिलाई अनुशासित बनाउने र आत्मविश्वास बढाउने धारणा राख्नुभयो । नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिइएको बताउँदै उहाँले नगरपालिकाको वडा नं। ४ मा निर्माण भएको कभर्ड हल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपाका नेताहरु बिष्णु खनाल, कृष्णचन्द्र आचार्य, संघका जिल्ला अध्यक्ष माधव भुर्तेल, नमोबुद्ध ११ का वडा अध्यक्ष कृष्णवहादुर तामाङ, नमोबुद्ध नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संघको नगर कार्यसमितिका अध्यक्ष सुदिप पौडेलको सभापतित्व तथा सञ्जीव न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !