विजेताको पोल्टामा नगद २ लाख,वडा नं.९ मैनाजाङ उपविजेता

  • नमोबुद्ध संवाददाता,

तेमाल–काभ्रेको तेमाल गाउँपालिका वडा नं. ८ ल्होङसाल भञ्ज्याङको टिमले दोस्रो अध्यक्ष कप फुटबल जितेको छ । गत वर्षको अध्यक्ष कप जितेको उसले यो पटक पनि प्रथम हुदै लगातार २ पटक विजेता बनी किर्तिमान कायम गरेको हो ।

तेमाल गाउँपालिका खेलकुद विकास समितिले आईतबारबाट तेमाल ७ चापाखोरीमा आयोजना गरेको प्रतियोगितामा प्रथम हुदै उसले नगद २ लाख,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

गत वर्षझैं यो पटक पनि फाईनलका लागि वडा नं. ९ मैनाजाङसँग भिडन्त भएको हो । निर्धारित समयमा ३–३ गोलको बराबरीमा पुगेपछि खेल ट्राईब्रेकरमार्फत टुंगो लगाइएको हो । पेनाल्टीसहित वडा नं. ९ को ७ र वडा नं.८ ले ८ गोल गरेपछि १ गोल अन्तरले वडा नं. ८ ले बाजी मारेको हो ।

प्रतियोगितामा वडा नं. ९ ले यो पटक पनि उपविजेतामै चित्त बुझाउनुपरेको छ । उसले नगद १ लाख ५० हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै घरेलु मैदानमा खेलेको वडा नं. ७ ले तेस्रो स्थान हाँसील गरेकोमा उसले नगद १ लाख,मेडल र प्रमाणपत्र हात पार्यो ।

वडा नं. ७ सँग १–० गोल अन्तरले पराजित भएपनि वडा नं. ५पनि हात खाली भने फर्किनु परेन । उसले सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार,मेडल र प्रमाणपत्र पाएको हो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नं. ९ का दिनेश दोङ, उत्कृष्ट गोल किपरमा वडा नं. ८ का बुद्ध घिसिङ र सर्वाधिक गोलकर्ता वडा नं. ९ का दिपक तामाङले ससम्मान नगद ५/५ हजार प्राप्त गरे ।

सोनाम ल्होछारको पूर्व सन्ध्यामा आयोजित प्रतियोगिताको समापनमा समेत आउनुभएका संविधानसभा सदस्य तिर्थ लामाले विजेता खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गर्नुभयो । उहाँले तेमालका युवाहरुमा भातृत्व भाव जगाउन पनि यो प्रतियोगिता फलदायी भएको बताउनुभयो ।

विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै उहाँले आगामी दिनमा तेमाल राष्ट्रिय,अन्तराष्ट्रिय स्तरका खेलाडी जन्माउने थलो बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तेमालमा बन्न लागेको रंगशाला निर्माणले तेमालका युवा पंक्तीमा उत्साह जगाएको भन्दै यसको निर्माण कार्यमा आफ्नो साथ रहने बताउनुभयो ।

विशेष अतिथि तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले तेमालको पहिचान फिजाउँन खेल पनि महत्वपूर्ण माध्यम भएको कुरा आफूले बुझेको धारणा व्यक्त गर्नुभयो । तेमालमा खेलकुदको विकासका लागि अन्तराष्ट्रिय मापदण्डको रंगशाला निर्माण आफ्नै कार्यकालमा सम्पन्न गर्ने उहाँको प्रतिवद्धता छ ।

पालिका अध्यक्ष तामाङले प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न नेतृत्वदायी भुमिका खेल्ने पालिका उपाध्यक्ष एवं खेलकुद विकास समितिका अध्यक्ष दुर्गामाया तामाङको प्रशंसा गर्नुभयो ।

पालिका प्रवक्ता ज्ञान बहादुर लामाले वडा नं. १ देखि ९ सम्मका सबै खेलाडीहरुले अनुशासित भएर आफ्नो कला प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

तेमाल गाउँपालिकाले युवा प्रात्साहनका लागि पनि अन्य पालिकाहरुको तुलनामा सर्वाधिक धनराशीको पुरस्कारसहितको प्रतियोगिता सम्पन्न गरेको उहाँको दावी छ ।

पालिका उपाध्यक्ष तथा प्रतियोगिता आयोजक खेलकुद विकास समतिका अध्यक्ष दुर्गामाया तामाङले आगामी दिनमा थप हौसलाका लागि पुरस्कार राशी बढाउने प्रतिवद्धता जनाउनुभयो ।

जिल्ला तथा राष्ट्रिय स्तरमा चम्कने खेल प्रतिभाको विकासका लागि आफू लागि परेको उहाँको भनाई छ । प्रतियोगितामा हार र जीत स्वभाविक हुने उल्लेख गर्दै उहाँले हार्ने जोकोही हतोत्साहित हुन नहुने बताउनुभयो ।

प्रतियोगिताको विजेता वडा नं. ८ का वडाध्यक्ष लक्ष्मीबहादुर घिसिङ र उपविजेता वडा नं. ९ का वडाध्यक्ष चन्द्रबहादुर लामाले जसले जितेपनि आखिर खेल तेमालका जनताले जितेको भन्दै खुसी साट्नुभयो ।

विजेता टोलीले गानाबजाना,पञ्चेबाजामा नाचगानसहित खुसीयाली मनाएको छ ।

समापन समारोहमा प्रतियोगिता सफल बनाउन साथ दिने प्रमुख अतिथि संविधानसभा सदस्य तिर्थ लामा लागयतका अतिथि,रेफ्री,स्वयंसेवकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस !