- नमोबुद्ध संवाददाता,
चौंरीदेउराली-काभ्रेको चौंरीदेउराली गाउँपालिकाका तामाङ समुदायलाई आफ्ना साँस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७ लाङ (म्हे) सोनाम ल्होछार धुमधामका साथ मनाउने वातावरण यहाँको स्थानीय सरकारले बनाएको छ । ल्होछारमा ३ दिन सार्वजनिक विदा दिने निणर्य गरेर चौंरीदेउराली सरकारले यहाँका जनभावनाको कदर गरेको हो ।
शुक्रबार सम्पन्न गाउँसभाले माघ २९, ३० र फाल्गुण १ गते ल्होछार विदा दिने निणर्य गरेको गाउँपालिकाका प्रवक्ता तथा ३ नं. वडा अध्यक्ष विनोद घिसिङले जानकारी दिनुभयो । तामाङ समुदायको बहुल्यता रहेको यस गाउँपालिकामा यो वर्षदेखि ३ दिन सार्वजनिक विदा दिने निणर्य गरेको उहाँले बताउनुभयो ।
तामाङ समदायको महान पर्वको रुपमा रहेको सोनाम ल्होछारको प्रवद्र्धन र विकास गर्नु सरकारको दायित्व भएकोले सोनाम ल्होछारमा ३ दिन सार्वजनिक विदा दिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले स्पष्ट पार्नुभयो ।
“नेपाल बहुजातिय, बहुसाँस्कृतिक, बहुधार्मिमक मुलुक हो । सबै समुदायको भाषा, धर्म, संस्कृतिको रक्षा, विकास र सम्बद्र्धन गर्नु सरकारको दायित्व हो ।” अध्यक्ष गौतमले भन्नुभयो, “त्यसैले यो पटकदेखि हाम्रो गाउँबासी जनताको भावनाको सम्मान गर्दै आफ्नो साँस्कृतिक पर्व धुमधामका साथ मनाउने वातावरण बनोस भनेर ल्होछारमा ३ दिन सार्वजनिक विदा दिने हामीले निणर्य गरेका हौं ।”
सोही अनुसार यो वर्षमा गाउँपालिकाले गाउँपालिका स्तरीय ल्होछार साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । गाउँपालिकाले सो कार्यक्रमको लागि बजेटको समेत व्यवस्था गरेको उहाँले बताउनुभयो। अध्यक्ष गौतमका अनुसार साँस्कृतिक कार्यक्रम वडा नं. ७ को मादनकुँडारी लगायतका स्थानमा आयोजना गरिएको छ ।
अध्यक्ष गौतमले हिन्दु धर्मोलम्बीहरुको पर्व दशैं र तिहारलाई जति नै अरु समुदायको चाडपर्व र संस्कारलाई पनि उत्तिकै सम्मान र समान व्यबहार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।