• नमोबुद्ध संवाददाता

तेमाल-काभ्रेको तेमाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आइतबारबाट हुने तय भएको

गाउँपालिका स्तरीय अन्तर वडाव्यापी दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

सोनाम ल्होछारको पूर्व सन्ध्यामा हुने प्रतियोगितामा सहभागी हुने टिमको टुंगो लागेको पालिका उपाध्यक्ष एवं खेलकूद विकास समितिका अध्यक्ष दुर्गामाया तामाङले जानकारी दिनुभयो ।

“प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी ९ वटा टिम प्रतिस्पर्धामा उत्रिने भएका छन् ।”,नमोबुद्ध खबरसँग आयोजक समितिका अध्यक्ष तामाङले भन्नुभयो-“अध्यक्ष कपको अन्य सम्पूर्ण तयारी समेत सकियो,माघ २५ गते विहान ९ बजे सभासद तिर्थ लामाको प्रमुख आतिथ्यतामा हामी सबै जनप्रतिनिधिहरु, खेलप्रेमीहरुको उपस्थितिमा प्रतियोगितामाको उद्घाटन हुन्छ ।”

समिति अध्यक्ष तामाङका अनुसार करिब १ घण्टा जतिको उद्घाटन समारोह लगत्तै खेल सुरु हुने छ । उद्घाटन खेल तेमाल गाउँपालिका वडा नं. १ को टिम र वडा नं. ७ को टिम बीच हुने छ । प्रतियोगिताका सबै खेल गाउँपालिकाको प्रस्तावित रंगशाला वडा नं.७ स्थीत चापाखोरीमा हुने छ ।

प्रतियोगिताको तयारी स्वरुप प्रत्येक वडाले स्थानीय युवालाई समेटेर आ-आफ्नो स्थानमा अभ्यास गरेका थिए । यसका लागि वडास्तरीय वजेट पनि विनियोजन गरिएको थियो ।

प्रतियोगिताको प्रथम हुने टिमले नगद २ लाख रुपैयाँ,दोस्रो हुने टिमले १ लाख ५० हजार रुपैयाँ,तेस्रो हुने टिमले १ लाख रुपैयाँ र सान्त्वना प्राप्त टिमले ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सबै भन्दा बढी गोल गर्ने खेलाडीले जनही नगद ५/५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका पुरस्कृत सबै टिम र खेलाडीलाई मेडल र प्रमाणपत्रद्वारा पनि सम्मान गरिनेछ ।

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुख्य नाराका साथ २७ गतेसम्म सञ्चालन हुने अध्यक्ष कपले युवा भातृत्व र एकताको विकासका साथै युवालाई शारीरिक, मनोवैज्ञानिक रुपमा तन्दुरुस्ती गराउने र तेमालको गौरव उठाउने विश्वास आयोजक समितिका अध्यक्ष तामाङको छ ।

राष्ट्रिय खेलकुद विकास समिति,तेमाल गाउँपालिका खेलकुद विकास समितिको उद्देश्य, गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम र बजेटले सम्बोधन गरे अनुसार नै प्रतियोगिता आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस !