• नमोबुद्ध संवाददाता,

चौंरीदेउराली–बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सरकारको योजना अनुसार सबै स्थानीय तहहरुले लाभग्राहीको बैंक खाता खोल्न आव्हान गरेपनि धेरै कठीनाइहरु छन् । एकातिर कागजी प्रक्रिया मिलाउन गाह्रो छ भने अर्को तिर बैंकको कार्यालय टाढा हुनु पनि समस्या नै भएको छ लाभग्राहीहरुलाई ।

यसैबिच काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ३, माझीफेदाले भने वडा कार्यालयमै खाता खोलिदिएको छ । एनसीसी बैंक, कातिके देउराली शाखासँग समन्वय गरेर वडामै खाता खोल्ने वातावरण तयार पारेको वडा अध्यक्ष विनोद घिसिङले जानकारी दिनुभयो ।
पूर्ण अपांग, अपांग, जेष्ठ नागरिक, एकल महिलालाई वडाबाट बैंकको कार्यालय पुग्न हिंडेर कम्तीमा ३ घण्टा लाग्ने भएपछि बैंक मार्फत सामाजिक सुरक्षा भत्ता दिन ग्रामिण क्षेत्रमा कठिन भएको वडा अध्यक्ष घिसिङको भनाई छ ।

‘गाउँका बुद्ध–बृद्धा बुबा–आमाहरु, शारीरिक आशक्तहरु, एकल महिलालाई बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निती त आयो तर उहाँहरु बैंकमा पुग्न सक्ने अवस्था नै छैन ।’ उहाँले भन्नुभयोे–‘जनताको लागि गाउँ–गाउँमा सिंहदरबार आएको अनुभूति पनि गराउनु थियो, फेरि जनताको समस्या हामीले नबुझे कस्ले बुझ्ने ? जनताकै लागि जनप्रतिनिधि, जनताले नै बनाएको जनप्रतिनिधि, हामीले उहाँहरुको सेवा नगरे कस्ले गर्ने ?’

जनताको समस्या देखेरै वडा कार्यालयमै खाता खोल्ने वातावरण बनाएको वडा अध्यक्ष घिसिङले स्पष्ट पार्नुभयो । ३ नं. वडामा सामाजिक सुरक्षा भत्ताका लाभग्राही ३ सय ८६ जना रहेको वडा अध्यक्ष घिसिङले जानकारी दिनुभयो ।

बृद्ध–बृद्धामा खुशी

वडा कार्यालयमै बैंक खाता खोल्न पाएपछि स्थानीय ७५ वर्षिय बृद्धा साइली तामाङले खुसी व्यक्त गर्नुभयो । ‘म बुढी हिंडेर बैंक कार्यालयमा ३ घण्टामा पनि पुग्न सक्दिन । रोड त छ तर गाडीको व्यवस्था छैन ।’ तामाङले भन्नुभयो, ‘वडा कार्यालयमै खाता खोल्न पाइयो । वडा अध्यक्ष बाबुले व्यवस्था गरेको रहेछ । खुशी लाग्यो ।’

अर्का बृद्ध ८० वर्षिय जमान सिं तामाङलाई पनि पिर थियो । पहिला–पहिला वडा अध्यक्ष र सचिवले घर–घरमै पुर्याएपनि बैंकबाटै दिने भएपछि भत्ता पाउनै गाह्रो हुने भयो भन्ने पिर उहाँलाई थियो । ‘के गर्नु म ८० वर्षको भएँ । हिंड्न सक्दिन । बैंक कार्यालय पनि यहाँबाट धेरै टाढा छ ।’ उहाँले भन्नुभयो , ‘वडा कार्यालयसम्म त जसरी पनि आउन सक्छु । अहिले मलाई चिन्तै छैन । वडा कार्यालयमै खाता खोल्न पाएँ । खुशी छु ।’

प्रतिक्रिया दिनुहोस !