• नमोबुद्ध संवाददाता,

धुलिखेल–काभ्रेको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पतालमा चार स्थानीय तहका ५ सय भन्दा बढीलाई
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाईदैछ । शुक्रबार एक कार्यक्रमका बीच मेथिनकोट अस्पतालबाट पहिलो चरणमा खोप लगाउन सुरुवात गरिएकोमा यो खोप जिल्लाका नमोबुद्ध नगरपालिकाको साथमा तेमाल गाउँपालिका, रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, सरसफाईकर्मी तथा स्वास्थ्य क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई पनि खोप लगाइने भएको हो ।

नमोबुद्ध नगरपालिकाका स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्सचालक, सरसफाईकर्मी लगायत २ सय ३० जना, रोशी गाउँपालिकाका १ सय ५०, तेमाल गाउँपालिकाका १ सय १९ र महाभारत गाउँपालिकाका ९३ जना रहेका छन् । यसमा केही पालिकामा कार्यरत स्वास्थ्य क्षेत्रको सुरक्षामा संलग्न सुरक्षाकर्मी, सरसफाईकर्मी र एम्बुलेन्स चालकको संख्या थप हुने मेथिनकोट अस्पतालका हेल्थ असिस्टेन्ट शोभाकान्त आचार्यले जानकारी दिनुभयो । पहिलो चरणको खोप अभियान यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।

खोप सुरुवात कार्यक्रममा पुग्नुभएका काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले ढुक्क भएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाकै कारण स्वास्थ्य क्षेत्रको अवस्थामा सुधार आएकाले पहिलो चरणमा उनीहरु प्राथमिकतामा परेको र क्रमश सबै जनताले खोपको सुविधा पाउने जानकारी दिनुभयो । नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पी शर्मा तिमल्सिनाले स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायत सबै क्षेत्रको सक्रियताका कारण काभ्रेमा कोरोनाका कारण धेरै क्षति पुग्न नपाएको बताउँदै खोप कार्यक्रमले स्वास्थ्यकर्मीको आत्मबल थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा कोहीपनि स्वास्थ्यकर्मी र सरसफाईकर्मी लगायत फ्रन्ट लाइनमा खटिने व्यक्तिहरु पहिलो चरणकैै खोपबाट बञ्चित नहुने र सबैलाई समेटिने बताउनुभयो । उहाँले काभ्रेमा आफूले नै खोप लगाएर यो अभियान सुरु गरेकाले नडराई, ढुक्क भएर खोप लगाउन पनि आग्रह गर्नुभयो ।

यसअघि काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालबाट बुधबार खोप कार्यक्रम सुरु गरिएको थियो । काभ्रेमा पहिलो चरणमा ३ हजार ५ सय ८१ जनालाई कोरोनावरुद्धको खोप लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस !