- नमोबुद्ध संवाददाता,
काठमाडौं–नेपालका थारु,मगर लगायतका समुदायमा धुमधामसाथ आज माघे संक्रान्ति पर्व मनाईदैछ । यि समुदायमा नयाँ वर्षको रुपमा स्वागत गर्ने गरिन्छ । साथै नेपालका केहि स्थानका तामाङ समुदाले पनि यसलाई नयाँ वर्षको आगमनको रुपमा मनउँछन् ।
नेपालका तामाङ प्रत्येक वर्ष सौर्य मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने यो पर्वमा स्नान, जप, तप, ध्यान साधना, दान आदि गरिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लागेको छ ।
माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । त्यसैले माघे संक्रान्तिको दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुल लगायतका परिकार खाने चलन छ । यी परिकारले
जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।
माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।