जन सांस्कृतिक महासंघको विस्तारित बैठक सम्पन्न

  • नमोबुद्ध संवाददाता,

काठमाडौं-परराष्ट्रमन्त्री,नेकपा स्थायी समिति सदस्य एवम् पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सत्यको पक्षमा एकजुट भएर लाग्न संस्कृतिकर्मीहरूलाई आग्रह गर्नुभएको छ । जन सांस्कृतिक महासंघको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो– “सर्वत्र असत्य हावी भइरहेको यो बेला सिर्जनाका माध्यमबाट हामीले सत्यको पक्षमा आवाज बुलन्द बनाउनुपर्ने अवस्था आएको छ ।”

मन्त्री ज्ञवालीले पार्टीभित्रकै केही लोभीपापी र स्वार्थी नेताहरूका कारण सरकारले चाहेअनुसारको काम गर्न र गति लिन नसकेको उल्लेख गर्दै दुई तिहाई नजिकको बहुमतको सरकारलाई गिराएर स्वार्थसिद्ध गर्न खोज्ने तत्वहरूकै कारण संसद विघटन गरेर ताजा जनादेशनमा जानुको विकल्प नरहेको विचार व्यक्त गर्नुभएको थियो ।

महासंघका अध्यक्ष खगेन्द्र राईको अध्यक्षतामा बसेको बैठकमा
विशिष्ट अतिथि नेकपा संस्कृति विभागका इन्चार्ज एवम् खानेपानी तथा ढल विकास मन्त्री मणि थापाले प्रधानमन्त्री केपी ओली दृढ इच्छाशक्ति र स्थिर स्वभावका नेता र पुष्पकमल दाहाल प्रचण्ड अस्थिर र उपयोगितावादी प्रवृत्तिका नेता भएको आरोप लगाउनुभयो ।

“जालझेल र कपट प्रचण्डको स्वभाव हो, जसका कारण नेकपा विभाजन हुन पुग्यो” उहाँले भन्नुभयो– “तर हामी प्रधानमन्त्री केपी शर्मा ओलीका साथमा छौँ जसले स्थिर रूपमा नेपाली जनता, नेपाल राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आफूलाई दृढ राखिराख्नुभएको छ ।” कलाकारसमेत रहनुभएका मन्त्री थापाले सुसंस्कृत समाजको निर्माणमा लेखक कलाकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको थियो ।

बैठकलाई सम्बोधन गर्दै महासंघका पूर्व अध्यक्ष एवम् नेकपा नेता सांसद डा. विजय सुब्बाले राष्ट्रि, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र मुलुकको समृद्धिका लागि केपी शर्मा ओलीको कुनै विकल्प नभएको दाबी गर्नुभयो ।

बैठकमा महासंघका अध्यक्ष राईले नव मनोनित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

प्रतिक्रिया दिनुहोस !