• नमोबुद्ध संवाददाता,

काठमाडौं–दाङ जिल्लाका थारू समुदायमा प्रचलित तर लोपोन्मुख अवस्थामा रहेका विभिन्न लोकभाकाहरूको स्थलगत अध्ययन–अनुसन्धान तथा सङ्कलन गरिएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले थारू समुदायले दसैँका अवसरमा गाउने थरपैँया, माघे संक्रान्तिको अघिल्लो रात गाउने ढङरु र विभिन्न भेटघाट तथा विशेष अवसरहरूमा गाउने हुरडुङ्या भाकाको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरिएको जनाउनुभयो । प्राज्ञ राईका अनुसार दसैँका अवसरमा बजाइने बाइस् ख्वाट अर्थात २२ ओटा मादलका तालको भिडियो अभिलेखीकरण समेत गरिएको छ ।

ढङरु भाका सङ्कलनमा घोराही–७ का बेझलाल चौधरीले हुरडुङग्या भाका, शान्ति नगर गाउँपालिका विष्णुदास चौधरीले धनौरा र थरपैँया भाका र बाइस् ख्वाट (२२ मादलका ताल)को संयोजन घोराही–१० का चन्द्रप्रकाश चौधरीले गर्नुभएको थियो ।
लोकभाका अध्ययन, अनुसन्धान तथा सङ्कलन सम्बन्धी कार्यको स्थानीय संयोजन कुलवीर चौधरीले गर्नुभएको हो । उक्त लोकभाकाहरू सम्बन्धी आलेखन थारू लोकगीत अध्येता डा. गोविन्द आचार्यले गरिरहनुभएको छ ।

यसै गरी प्राज्ञ सभा सदस्य चाँदनी मल्लको संयोजनमा दार्चुला जिल्लामा बसोबास गर्ने सौका जातिमा प्रचलित तीन ओटा लोकभाकाहरूको स्थलगत अध्ययन, अनुसन्धान तथा सङ्कलन कार्य सकिएको र चाँडै नै ती सबै लोकभाकाहरूको रेकर्डिङ गरिने प्राज्ञ राईले जानकारी गराउनुभयो ।

यसअघि प्राज्ञ राईले ताप्लेजुङको ओलाङचुङगोलामा पुगेर वालुङ जातिका लोकभाकाहरूको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलनको सुरुवात गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !