जुन संवत्माथि पृथ्वीनारायण शाहले हस्तक्षेप गरे ।

  • नमोबुद्ध संवाददाता,

धुलिखेल–न्ह्यू दया भिंतुना–नयाँ वर्षको शुभकामना । नेपालको मौलिक संवत नेपाल संवत्को नयाँ वर्ष आज मनाइँदैछ ।
नेसं ११४१ सुरु भएको अवसरमा आज शुभकामना आदानप्रदान,राष्ट्रिय विभूति शंखधर साख्वाको सम्झना लगायतका कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोरोना महामारीका कारण भीडभाड नहुने खालका कार्यक्रमहरु आयोजना गरिएका हुन् ।

कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन नयाँ वर्ष सुरुवात हुने र नेपालको नेवार समुदायमा विशेष धुमधामका साथ मनाइँने चलन छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेसंको सुरुवात गरेका थिए । नेसंले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो,लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो,नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।”

विसं २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेसंलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

सन्दर्भ सामाग्री : ekantipur.com

प्रतिक्रिया दिनुहोस !