• नमोबुद्ध संवाददाता,

धुलिखेल–तिहारको मुख्य दिन आज भाइटीका दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी मनाईदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार यमपञ्चकको पाँचौं दिन आज भाइटीकाको उत्तम साइत मध्याह्न ११ : ३७ मा छ । दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि यो समय उत्तम रहेको उहाँको भनाई छ ।

भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको गौतमले बताउनुभयो । भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय विश्वास रहेको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने प्रचलन छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
हिन्दु समुदायमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ ।

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !