-
नमोबुद्ध संवाददाता,
काठमाडौं-तामाङ आधुनिक गीत संगीतको क्षेत्र फराकिलो बन्दै जानुमा यसप्रतिको युवा आकर्षण मुख्य मानिन्छ । तामाङ समुदायका युवा जमातको आर्थिक, बौद्धिक लगानी त उल्लेख्य छनै केहि न केहि रुपमा कला साधना जोडिएकै छ । यिनै पाटोको संयोजन हो तामाङ आधुनिक गीत ‘एदा घोर्गी ताम’ ।
यिनै गीत भिडियोसहित राजधानीमा आइतबार एक समारोहकाबीच वरिष्ठ गायक एवं संगीतकार,नेपाल तामाङ कलाकार संघका संस्थापक अध्यक्ष चन्द्रकुमार दोङको बाहुलिबाट सार्वजनिक गरिएको हो ।
पहिलोपटक करिब ३ दशक अगाडि आफु मौलिक धारभन्दा अलि फरक संगीत सिर्जनामा लाग्दा निकै चुनौती मोल्नुपरेको अनुभव साट्दै प्रमुख अतिथि दोङले आज तामाङ गीत संगीत फराकिलो बाटोमा अघि बढेको बताउनुभयो ।
आधुनिक तामाङ गीत संगीत उन्नयनका मुख्य हस्ती उहाँले भन्नुभयो-“धैर्यता चाहिदो रहेछ, हाम्रा गीतमा नयाँपन दिन खोज्दा हिजो मलाई धेरै ठाउँबाट विरोध आएको थियो,आज जुन उचाई हाम्रा गीत संगीतले लिएको छ,म निकै खुसी छु ।”
उहाँले कला क्षेत्रका अनुभवि कलाकार र नव कलाकारहरुको हातेमालोबाट ‘एदा घोर्गी ताम’ जस्तो राम्रो सिर्जना जन्मेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
निर्देशक अमिर दोङले ‘एदा घोर्गी ताम’ सामुहिक प्रयासको प्रतिफल रहेको बताउनुभयो । उहाँले यसमा साथ दिने सबैमा कृतज्ञता प्रकट गर्नुभयो ।
अमिर दोङ निर्देशन र सम्पादन रहेको यो गीतको भिडियोमा सागर मोक्तान र यङ्की दोङको मोडलिङ छ । युद्ध लामाको कोरियोग्राफी रहेको यस भिडियो त्रिलाोक लामाले छायांकन गर्नुभएको हो ।
विशाल काल्तानको शब्द संगीतमा जितु लोप्चन र रमित लामाको युगल गायन रहेको यो गीतको भिडियोका दृश्यहरु अधिकांश पोखराको फेवाताल आसपासका छन् ।
भिडियोमा मनमोहक,शान्त वातावरणमा एक प्रेमिल जोडिको अन्तरंग कुरा साट्न खोजेको देख्न सकिन्छ । भिडियो तामाङ सुपरस्टार डम्फू मिडिया हाउसको युट्युब च्यानलमा हेर्न सकिन्छ ।
भिडियो: