“समुदायको हितमा जुनसुकै चुनौती मोल्न तयार छु ।”

  • नमोबुद्ध संवाददाता,

भक्तपुर-पछिल्लो समय निकै चर्चित बनेको काभ्रेको रोशी ४ स्थित तिनधारे झरना र आसपासका रमणीय दृश्यलाई पृष्ठभूमि पारि छायांकन गरिएको म्युजिक भिडियो ‘लेकाली मैच्याङ’ शनिबार सार्वजनिक गरिएको छ ।

तामाङ परिवेशका साथै माया प्रेम र तिनधारे झरनाको सम्मोहन उजागर हुनेगरी ल्याईएको गीत युवा गायक लनम तामाङको हो,जुन गीतलाई भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा रोशी गाउँ पालिकाका अध्यक्ष डिबी मोक्तान तामाङको बाहुलीबाट सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले स्थानीय पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने गरी तिनधारे झरनाको रमणीय दृश्यलाई स्थान दिएकोमा म्युजिक भिडियो निर्माण टोलीप्रति खुसी व्यक्त गर्नुभयो ।

तिनधारे झरनाको पर्यटन विकास र संरक्षणका लागि बजेट छुट्याएको जानकारी दिदै उहाँले डिपीआर बनाउने र होमस्टे कार्यक्रम अघि बढाउएको स्पष्ट पार्नुभयो ।

चलचित्र कला क्षेत्रमा विगतको आफ्नो अनुभव स्मरण गर्दै उहाँले कला जगतको उन्नयनमा लाग्ने जो कोहीप्रति आफ्नो सकारात्मक साथ रहने प्रतिबद्धता जनाउनुभयो । पालिका अध्यक्ष तामाङले भन्नुभयो- “मौलिक रितिरिवाज र संस्कृति जोगाउने समय यहि हो,युवा लाग्नुहोस्,यिनै चिजको प्रवर्द्धनका लागि भएका कला कर्ममा सहयोग रहन्छ ।”

सद्भावपूर्ण समाज निर्माणमा आफू कटिबद्ध रहेको उहाँको धारणा छ । सवै समुदायको आत्मसम्मानलाई सम्मान गर्दै आफ्नो समुदायको हितमा सदैव लागिरहने उहाँको प्रण थियो ।
आफ्नो समुदायको मुद्दा स्थापित गर्न आफु जस्तोसुकै चुनौती मोल्न तयार रहेको उहाँले बताउनुभयो ।

विशेष अतिथि नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन वल तामाङले आफ्नो समुदायको हितकारी कला कार्यमा सँगै रहने बताउनुभयो ।

यसअघि ‘ङाला लिला’ गीत ल्याइसकेका गायक लनम तामाङले यो पटक आफ्नै ठाउँको सम्भावना र सामाजिक सद्भाव उजागर गर्न लेकाली मैच्याङ ल्याएको बताउनुभयो । उहाँले यो पटक पनि स्रोता दर्शकको माया पाउने विश्वास व्यक्त गर्नुभयो । उत्कृष्ट सिर्जना पस्किने प्रयास स्वरुप सांगीतिक क्षेत्रमा केहि न केहि अनुभव संगालेका कला कर्मीहरुको सहकार्य भएको उहाँको भनाइ छ ।

लनमकै शब्द र स्वर रहेको गीतमा संगीत गायक सुनिल गिरीको छ भने भिडियोमा तामाङ चलचित्रका चर्चित नायिका सुस्मा मोक्तान ,लक्ष्मन लामा, पुसन लामा,सुरेश लामा लगायतको अभिनय रहेको छ।

अजय स्याङतान निर्देशित भिडियो विक्रम मोक्तानले छायांकन गर्नुभएको हो । भिडियो लाप्साङ कर्पोको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

भिडियो :

 

प्रतिक्रिया दिनुहोस !