• नमोबुद्ध संवाददाता,

तेमाल–तिहारको पूर्वसन्ध्यामा काभ्रेको तेमाल गाउँपालिकाका वडा वडामा सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको छ । चौमासिक रुपमा वितरण गरिदै आएको भत्ता वितरण कार्यक्रमबाट जेष्ठ नागरिक,एकल महिला,दलित बालबालिका र अपांगता भएका व्यक्तिहरु लाभान्वित भएका छन् ।

गाउँकार्यपालिकाको कार्यालय पोखरीनारायणस्थानमा कार्यरत एक कर्मचारीमा कोरोना भाईरस कोभिड १९ संक्रमण देखिएपछि पालिका कार्यालयको अतिआवश्यक बाहेकका सेवाहरु बन्द रहेपनि सामाजिक सुरक्षा भत्ता वितरणको काम भने नरोकिएको पालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो ।

“यहाँका केहि कर्मचारी कन्ट्याक्ट ट्रेसिङमा परेकोले पालिका कार्यालको सेवा बन्द गरिएपनि भत्ता वितरणको काम नरोक्न भनेको छु ।” उहाँले वडातहका कर्मचारी र वडाध्यक्षहरुलाई समेत आग्रह गर्दै भन्नुभयो–“तिहार आईसक्यो,सामासजिक सुरक्षा भत्ता पालिकाले निकासा गरिसक्यौं,तिहारको शुभकामनासहित वितरण गर्नु ।” वडास्तरमा कोरोना जोखिम कम रहेको साथै चाडवाडको मुखैमा परेकोले भत्ता वितरण नरोक्न आफूले भनेको पालिका अध्यक्ष तामाङको स्पष्टोक्ती छ ।

तेमालका अधिकांश वडा कार्यालयहरुले बिहिबारसम्ममा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेका छन् । वडा नम्बर १ को कार्यालय सस्र्युंखर्कले यो पटकको सामाजिक सुरक्षाभत्ता वितरण सम्पन्न गरेको वडाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिनुभयो । वडा नम्बर १ मा १२४ जना जेष्ठ नागरिक,६४ जना एकल महिला,७ जना अपांगता भएका व्यक्ति र ७ जना दलित बालबालिका गरी २०२ ले भत्ता बुझेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष श्रेष्ठका अनुसार जेष्ठ नागरिकले प्रतिमहिना ३००० का दरले,एकल महिलाले प्रतिमहिना २००० का दरले आंशिक अपांगता भएका व्यक्तिले प्रतिमहिना १६०० का दरले र दलित बालबालिकाले प्रतिमहिना ४०० का दरले १ महिनादेखी ४ महिनासम्मको भत्ता बुझेका हुन् ।
त्यस्तै चुखास्थित वडा नम्बर २ को कार्यालयमार्फत १३७ जना जेष्ठ नागरिक,६१ जना एकल महिला,१० जना अपांगता भएका व्यक्तिले भत्ता बुझेको वडाध्यक्ष तिमाल सिं तामाङले जनाउनुभयो ।

वडा नम्बर ३ को कार्यालय सरमथलीले सोमबारनै वितरण सम्पन्न गरेको वडाध्यक्ष विष्णुबहादुर तामाङले बताउनुभयो । वडा नं. ६ को कार्यालयले बुधबारबाट ९० प्रतिशतभन्दा बढिलाई भत्ता वितरण गरिसकेको वडाध्यक्ष विकुलाल तामाङले जानकारी दिनुभयो । त्यस्तै वडा नं. ५,७,८ र ९ को वडा कार्यालयहरुले पनि सामाजिक सुरक्षाभत्ता वितरण नरोकिएको वडाध्यक्षहरुले जनाएका छन् ।

केहि वडा कार्यालयहरुले कोभिड १९ को बेला भिडभाड हुने र रोग संक्रमण हुनेतर्फ सचेत हुदै टोल बस्तीमा पुगेर भत्ता वितरण गरेका बताएका छन् । स्थानीय वडा कार्यालयहरुले भत्ता बुझ्न छुटेका व्यक्तिहरुलाई सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

“अव छिट्टै बैंकिङ प्रणालीबाट भत्ता निकासा हुनेछ,अहिलेचाँहि हामीले हात हातमै दिएका छौं,चाडवाडको पूर्वसन्ध्यामा भत्ता बुझेका लाभग्राहीहरु खुसी भएका छन् ।”–वडा नं. १ का वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

वडा नं. १ र ६ फाईल फोटो

प्रतिक्रिया दिनुहोस !